नाम/थरको पछाडि ‘जी’ किन ?

नाम/थरको पछाडि ‘जी’ किन ?


नाम, थर र नाताको पछाडि ‘जी’ जोडेर भन्नुभन्दा ‘श्री’ जोडेर भन्दा भनिएको मान्छेको अनुहारमा चमक हेर्नुस्, आकाश पाताल फरक पाउनुहुनेछ । कसैलाई आदर वा उच्च सम्मान व्यक्त गर्नुहुन्छ भने ‘ज्यू’ शब्दको प्रयोग गरौँ । जी शब्दको खासै तरङ्गित पार्ने खालको अर्थ छैन, र ‘श्री’ शब्दसँग यसको तुलना नै हुँदैन ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’

प्राय गरेर हामीले साथीभाइलाई सम्बोधन गर्दा नाम वा थरको पछाडि ‘जी’ जोडेर बोलाउने गर्छौं । कार्यालय वा अन्य भेटघाटमा भेटिएकालाई पनि नाम वा थरको पछाडि ‘जी’, सर, म्याडम भन्दछौँ । जस्तो महेशजी, राजेशजी, मधुजी आदि । त्यस्तै थरको पछाडि पनि ‘जी’ जोड्छौँ, जस्तै खड्काजी, त्रिपाठीजी, राईजी, विश्वकर्माजी आदि । मेरो मानसपटलमा एउटा प्रश्न उब्जिरहेको छ, वास्तवमा हामीले ‘जी’ यसरी कहिलेबाट प्रयोग गर्न थाल्यौँ ? किन जोड्यौँ र यसले के अर्थ लगाउँछ ?

एउटा कुरा पक्का हो, यो ‘जी’ शब्द नेपाली चैँ होइन । यो भारतबाट आयातित शब्द हो । भारतमा ‘जी’ शब्द नाम वा थरको पछाडि जोड्दा आदर, र उच्च सम्मान गरेको पाइन्छ । जस्तै- प्रधानमन्त्रीलाई पनि मोदीजी भनेर अनि अभिताभ बच्चनलाई पनि अभिताभजी वा बच्चनजी भनेर उच्च सम्मान गरेको पाइन्छ । भारतमा कसैलाई बोलाउन पऱ्यो भने नाम थाहा छैन भने ‘सुनिए जी’ भन्छन्, अनि सोधिएको मान्छेले पनि ‘कहिए जी’ भन्छ । भारतमा ‘जी’ शब्दको प्रयोग नाम र थरपछाडि जोड्ने बाहेक विभिन्न लवज, परिस्थितिमा विभिन्न अर्थ लाग्नेगरि पनि गरिन्छ । तर नेपालमा ‘जी’ शब्द जसरी प्रयोग गरिन्छ, त्यसले भारतमा नाम र थरको पछाडि जोडेर प्रकट गरेजस्तो सम्मान र त्यो स्तरको आदरभाव या विनम्रता देखाउँदैन । सिधै नाम वा थर मात्र भनेर बोलाउँदा अलिक असजिलो हुने हुनाले यहीँ आयातित शब्दको प्रयोग दिन-प्रतिदिन चलनचल्तीमा आएको मात्र हो । नेपालमा यो शब्दलाई अनौपचारिक रूपमा नै लिइन्छ, यसो भन्दिउँ न भनेर भनिटोपलेको मात्र हो ।

घनिष्ठ साथी अनि समकालिनहरूले चैँ नाम वा थर मात्र भनेर तिमी भनेर बोलाउँछन् । कसैको पनि नाम वा थरको पछाडि आदर र सम्मानका साथ जोडिने नेपाली शब्दकोशमा शब्द ‘ज्यु’ हो, ‘जी’ होइन । हामी निमन्त्रणा पत्र पठाउँदा नाम र थर लेखिसकेपछि अन्त्यमा ‘ज्यु’ नै लेख्छौँ, ‘जी’ लेख्दैनौँ । यसरी लेख्दा औपचारिकता, विनम्रता जनाउँछ र आदरसूचक पनि हो । त्यस्तै, कसैको सोल्टी/सोल्टीनी भए सम्बोधन गर्दा सोल्टीज्यु, सोल्टीनीज्यु भन्दछौँ, जसलाई आदर गरेको मानिन्छ । ‘ज्यु’ भन्नु भनेको जापानमा ‘सान’ र भारतमा ‘जी’ भनेको जस्तै उच्चस्तरको सम्मान हो । त्यसैले हामीले ‘जी’ भन्ने शब्दलाई किन यति धेरै महत्व दिने, यो परिपाटीलाई आजैबाट त्यागौँ । सकिन्छ भने बोलीचालीमा पनि नाम र थरको पछाडि ‘ज्यु’ नै भन्ने बानी बसालौँ । हाम्रो यति राम्रो आदर व्यक्त गर्ने शब्द हुँदाहुँदै किन हामी यो अर्थहीन आयातित शब्दको प्रयोग गरिरहेका छौँ ?

यदि ‘ज्यु’ शब्द हामी औपचारिक रूपमा निमन्त्रणा पत्रमा मात्र प्रयोग गर्ने हो भने अर्को विकल्प पनि गर्न सकिन्छ, जुन अति श्रेयकर छ मेरो विश्लेषणमा । हामीले नाम, थर वा नाताको पछाडि ‘श्री’ शब्दको प्रयोग किन नगर्ने ? नामको अगाडि त हामी निमन्त्रणा पत्रमा ‘श्री’ लेख्छौँ नै, अब बोलीचालीमा नामको पछाडि किन नभन्ने ? ‘श्री’ शब्द आफैंमा एउटा समृद्ध र शक्तिशाली शब्द हो । जसरी ‘ॐ’ शब्द ब्रम्हाण्डको नै सृष्टि हो भनेर हामी मान्छौँ भने ‘श्री’ सृष्टिको प्रारम्भ हो । हामीले नामको पछाडि ‘श्री’ लगाउँदा पवनश्री, सदानन्दश्री, चेतनाथश्री, तोयाश्री आदि भन्दा कति राम्रो सुनिन्छ । त्यस्तै, थरको पछाडि सुब्बाश्री, प्रधानश्री, सिक्देलश्री आदि लगाउँदा त्यसै उर्जा मिलेको अनुभव हुन्छ । अनि नातामा माताश्री, पीताश्री, मामाश्री, गुरुश्री, सालीश्री आदि भनेर भन्दा कति आदरणीय देखिन्छ । सत्य, द्वापर र त्रेता युगमा पनि यसरी नाताको पछाडि ‘श्री’ जोडेर भन्ने चलन थियो ।

अब ‘श्री’ के हो ? यसको के अर्थ लाग्छ, त्यो पनि सारांशमा हेरौँ । ‘श्री’ भनेको समृद्धिका देवता हुन्, यसले पवित्रता जनाउँछ, ‘श्री’ शक्ति हो, तेज हो, सम्पतीको खानी हो । जुन व्यक्तिले कुनैपनि चिजको अन्वेषण गर्दछ भने त्यसलाई श्रीयूक्त मानिन्छ । कुनैपनि काम शुरु गर्दा हामी श्रीगणेशाय नमः भनेर गर्छौं । पवित्र ग्रन्थहरूमा पनि पहिलो अक्षर श्री नै लेख्ने गरिन्छ । जस्तै- श्रीमद्भागवत, शिखहरूको पवित्र ग्रन्थ श्री गुरुग्रन्थ साहिव आदि । श्री शब्द संस्कृतबाट आएको हो । सबैभन्दा पहिला यो शब्द ऋग्वेदमा उल्लेख भएको पाइन्छ । श्री शब्द प्रायः ईश्वर, महापुरुष, ऋषिमुनी, राजा, महाराजा, तत्ववेत्ता आदिको अगाडि प्रयोग गरेको पाइन्छ । जस्तै श्रीगणेश, श्रीराम, श्रीकृष्ण, श्रीलक्ष्मी, श्रीबिष्णु, श्रीदुर्गा, श्रीहनुमान, श्रीयोगी आदि । नेपालमा शाहवंशीय राजाहरूले पाँचवटा श्री र राणाहरूले तीनवटा श्री को पदवी पनि नामको अगाडि राखेका थिए, श्री को अर्थ बुझेर राखे वा नबुझीे । यो शब्दले उसको व्यक्तित्व, राम्रो कार्य, महानता, अपार शक्ति, अलौकिकता आदि भएको संकेत गर्दछ । वास्तवमा भन्ने हो भने ‘श्री’ शब्द पूरै ब्रम्हाण्डको प्राणशक्ति हो, यसैमा जीवनको अस्तित्व रहेको पाइन्छ ।

यसरी ‘श्री’ भनेर नाम, थर र नातामा जोडेर भन्दा ‘श्री’ मा भएको शक्तिले अनि त्यो शब्द उच्चारण गर्दा त्यसको तरङ्गित ध्वनीले मान्छेको पुरुषार्थ बढ्नेछ, ऐश्वर्य हासिल गर्ने बल मिल्न सक्छ । सूर्य, चन्द्र, वायु, आकाश, जल, पृथ्वीमा रहेको प्राणशक्ति शरीरमा प्रवेश गर्न सक्छ र आत्मशक्तिमा उर्जा, मष्तिष्कमा सोच्ने शक्तिको विकास, बल र बुद्धिमा वृद्धि हुनेछ । यो शब्द सुनेपछि स्वस्फूर्त रूपमा शरीर र मष्तिष्कमा सकारात्मक कम्पन भएको महसूस हुनेछ । ‘श्री’को धेरै अर्थ लाग्छ, यसको प्रयोगले व्यक्तिमा उर्जा प्रदान गर्दछ, आत्मबल बढाउँछ र सच्चा सम्मान गरेको बोध गराउँदछ । त्यसैले नाम, थर र नाताको पछाडि ‘जी’ जोडेर भन्नुभन्दा ‘श्री’ जोडेर भन्दा भनिएको मान्छेको अनुहारमा चमक हेर्नुस्, आकाश पाताल फरक पाउनुहुनेछ । कसैलाई आदर वा उच्च सम्मान व्यक्त गर्नुहुन्छ भने ‘ज्यु’ शब्दको प्रयोग गरौँ । जी शब्दको खासै तरङ्गित पार्ने खालको अर्थ छैन, र ‘श्री’ शब्दसँग यसको तुलना नै हुँदैन । साथै संस्कृतमा पनि यो ‘जी’ अक्षर पाइन्न । त्यसैले भारतबाट आयातित यो ‘जी’ शब्द प्रयोग गरेर भावी सन्ततीलाई अन्योलमा नपारौँ । संस्कृतविद्, भाषाविद्, नेपाली भाषाका जानिफकार, धुरन्धर ज्ञाताहरूले यसबारे अझ प्रष्ट पारे हामीलगायत आउने पिँढीहरू पनि ‘जी’ ‘ज्यु’ र ‘श्री’बारे छर्लङ्ग हुने थियौँ । श्री ॐ ।

  • मालीगाउँ (काठमाडौं), हाल : बेलायत