✍ श्यामकृष्ण लम्साल
लम्सुवाघाटको बगरमा उभिएर
सूर्य-चन्द्र स्वरुपमा चम्किरहेका बलि, रामचन्द्र पाध्यहरूको इतिहास
गौरवमय, पौरखी जीवन्त इतिहास
मुस्कुराइरहेको, मोतीझैँ टल्किरहेको इतिहास
आजको हाम्रो पुस्तालाई कति ज्ञात होला ?
समयको तराजुमा हालेर
इतिहाससँग सोध्नुपर्ने भएको छ
तुर्केदेखि सुर्केसम्मको वीरता र विरासत
पुर्खाका रगत/पसिनाको मूल्य र मान्यता
आजको हाम्रो पुस्तालाई
कति ज्ञात होला ?
सूर्यचन्द्र अङ्कित झण्डाको
स्वाभिमानको रक्षा गर्दा आउने आनन्द
बलिपाध्ये, रामचन्द्रहरूकै सिर्जना र पुरुषार्थ थिए
माटाका कण-कणमा रगत पसिनाले
सिर्जित र सिंचित गर्ने शिक्षा
उनै विभूतिहरूको थियो
स्वाभिमानी, स्वावलम्बी पौरखी सन्तान उनीहरूकै उपज थियो
मकालु हिमालझैँ उच्च शिरको सगर
उनैले ठड्याएका थिए
चेतना, सभ्यता, संस्कृतिको मुहान
उनैले फुटाएका थिए
त्यसको महत्व हामीले बुझ्यौँ कि बुझेनौँ ?
चिन्यौँ कि चिनेनौँ ?
इतिहाससँग सोध्नुपर्ने भएको छ
फेरि एकपल्ट
लम्सुवाघाटको बगरमा उभिएर !
- षडानन्द न.पा.-६, दिङ्ग्ला (भोजपुर)
प्रतिक्रिया