भीडन्तको सम्भावना बढेपछि चक्रपथभित्र प्रदर्शन निषेध !

भीडन्तको सम्भावना बढेपछि चक्रपथभित्र प्रदर्शन निषेध !


सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र उक्त पार्टीका युवा नेता महेश बस्नेतलाई मङ्सिर ७ गते गर्ने भनिएको प्रदर्शन त्यसदिनका लागि रोकी अर्कै दिन गर्न गरेको आग्रह अस्वीकार भएपछि राजधानीको मुख्य शहरी क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको छ ।

एमालेका नेताहरूलाई उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भेटी प्रदर्शन कार्यक्रमको मिति सार्न आग्रह गरेका थिए, तर दुवै नेताहरू आ-आफ्ना अडानमा दृढ देखिए । त्यसपछि दुई पक्षबीच भिडन्त हुने सम्भावनालाई हेरेर काठमाडौंको मुख्य शहरी क्षेत्रमा प्रदर्शन गर्न मङ्सिर महिनाभर रोक लगाउने निर्णयमा सरकार पुगेको हो ।

प्रदर्शनका निम्ति राजतन्त्र पुनस्र्थापना पक्षधरहरूका लागि बल्खु (चक्रपथ) क्षेत्र तोकिएको छ भने युवा सङ्घका निम्ति तीनकुने क्षेत्र निर्धारण गरिएको छ । यसरी दुई पक्षलाई दुई विपरीत दिशामा भेला हुन दिँदा आपसमा भिडन्त नहुने सुरक्षा निकायको विश्लेषण छ ।

सूरक्षा निकायले पहिले बालाजुको माछापोखरीमा भेला हुन पाउने व्यवस्था गरेको थियो । तर, माछापोखरी क्षेत्रनजिकै बसपार्क रहेको, सार्वजनिक सवारीसाधनको आवागमन ज्यादा हुने र, हुल्लडबाजहरूको गतिविधि पनि बढी हुने भएकोले अन्यत्र स्थान दिइनुपर्ने सुझाव प्राप्त भएपछि प्रदर्शनस्थल फेरिएको बुझिएको छ । पञ्चायत रजत पार्क (शङ्खपार्क क्षेत्र) मा दिनु उपयुक्त हुने राय धेरैको भएपनि त्यहाँका रुख विरुवालाई क्षति पुग्ने भन्दै सम्बद्ध पक्षले आपत्ति जनाएको बताइन्छ ।

जे होस्, सरकारी स्तरबाट दुवै पक्षलाई आपसमा नभिड्ने किसिमबाट प्रदर्शन स्थल निर्धारण गर्ने कार्य भएको छ । तर चक्रपथभित्र कुनै गतिविधि गर्न नदिन गृह प्रशासन कटिबद्ध रहेको बताइएको छ ।