गठबन्धन कायम राख्दा आफू प्रधानमन्त्री बन्ने ग्यारेण्टी रहेको ठान्ने माधवले उपेन्द्रलाई समेत रोकेर राखिरहनुभएको छ, होइन भने उपेन्द्रले धेरै पहिले नै विद्यमान सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरिसक्नुहुने थियो ।
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अध्यक्ष पद पाए एमालेमै फर्किनुहुने भएको छ । केपी शर्मा ओलीसँगको विशेष भेटघाटका क्रममा माधवले आफूलाई अध्यक्ष पद दिए पार्टी एकताबारे सोच्न सकिने सङ्केत दिनुभएको हो ।
नेपाल र ओलीबीच तिहारअघि वार्तालाप भएको सम्बद्ध सूत्रहरूले जनाएका छन् । दुई नेताबीच भेटवार्ता हुँदा केपीले सत्ता समीकरण बदल्ने विषयलाई प्राथमिकतामा राख्नुभएको थियो, तर माधव नेपालले भने सत्ता गठबन्धन बदल्न आफ्नो स्थिति स्पष्ट हुनुपर्नेमा जोड दिँदै आफूलाई एमाले अध्यक्षको जिम्मेवारी दिएमा पार्टी नै एकीकरण गर्न सकिने बताउनुभएको थियो । तथापि, केपीले अध्यक्ष पद हस्तान्तरण गर्ने कुनै सङ्केतसम्म दिनुभएन । त्यसैले सम्वादबाट कुनै ठोस परिणाम हाशील हुन सकेन । तथापि, केपी र माधवबीच वार्तालाप मात्र हुनुलाई पनि सम्बद्ध पक्षले ठूलो उपलब्धि ठानेको छ ।
पार्टी अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन माओवादी र काङ्ग्रेससँग साँठगाठ गर्नुभएका माधव नेपाल २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनको परिणामबाट ज्यादै दुखी हुनुहुन्छ । उहाँले समाजवादी केन्द्र नाममा मोर्चाबन्दी गरेर आफूहरू ठूलो समूहको नेता बनेको आत्मरतिमा रमाउन खोजेपनि अर्को निर्वाचनसम्म पार्टी जोगाउन मुस्किल पर्ने देखिएको छ । माधवसहित दस जनामध्ये पाँच सांसद एमालेमा मिसिन खुट्टा उचालेर बसेको बुझिन्छ । सांसद पद जानसक्ने त्रासले मात्र उनीहरू एमाले प्रवेश गर्न हच्किएको बताइन्छ ।
स्मरणीय छ, माधव नेपाल विद्यमान गठबन्धनबाटै आफू प्रधानमन्त्री बन्ने विश्वासमा हुनुहुन्छ । प्रचण्डले दुई वर्ष पूरा गरेपछि आफ्नो पालो आउनेमा उहाँ ढुक्क हुनुहुन्छ । आफूलाई छलछाम नहोस् भनेर गठबन्धनभित्र पनि माधवले उपेन्द्र यादवसँग भित्री गठबन्धन बनाउनुभएको छ । यादव र आफू एक रहेको अवस्थामा मात्र राजनीतिक सुरक्षा हुनसक्ने निष्कर्षका साथ माधवले त्यसरी गठबन्धनभित्र विशेष गठबन्धन बनाउनुभएको बुझिन्छ । यता गठबन्धन कायम राख्दा आफू प्रधानमन्त्री बन्ने ग्यारेण्टी रहेको ठान्ने माधवले उपेन्द्रलाई समेत रोकेर राखिरहनुभएको छ, होइन भने उपेन्द्रले धेरै पहिले नै विद्यमान सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरिसक्नुहुने थियो ।
एमालेको अध्यक्ष बन्न नपाए पनि काङ्ग्रेस र माओवादीले धोखा दिने सङ्केत देखिएमा माधव एमालेसँगको गठबन्धनमा सामेल हुन बाध्य हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया