बालुवाटार सूत्रका अनुसार प्रचण्डले आगामी फागुनदेखी वर्तमान संविधान र ब्यवस्थाविरुद्ध निर्णायक सङ्घर्ष गराउने तयारी भइरहेको सूचना पाएका छन् । त्यस्तो सङ्घर्ष राजतन्त्र पुनर्स्थापनाका निम्ति भनिएपनि वास्तवमा राजतन्त्र पुनर्स्थापनाका निम्ति नभइ केवल नेपालमा अस्थिरता पैदा गर्ने उद्देश्यले मात्र हुन लागेको भन्ने प्रचण्डको बुझाइ छ ।
आफ्नै बुतामा सशस्त्र सङ्घर्ष गरेर सत्ताप्राप्त गर्ने हैसियत बनाएको दाबी गर्दै आएका प्रचण्ड एक साधारण ब्यक्तिले चलाएको अभियानसँग भने नराम्रोसित तर्सिएका छन् । कुनै समय आफ्नै साधारण कार्यकर्ता रहेका ब्यक्ति राजतन्त्र पुनर्स्थापना र बैंकको ब्याज मिनाहालगायत जनसरोकारका मागसहित सडक सङ्घर्षमा उत्रिएको कारणले प्रधानमन्त्री प्रचण्ड डराएको जस्तो देखिएका छन् । तर प्रचण्ड डराएको कुनै अभियान या ब्यक्तिले आयोजना गरेको सङ्घर्षका कार्यक्रमबाट नभएको बुझिन्छ । न उनी एमालेसमर्थकहरू सडकमा भिड्न तयार भएका कारणले नै डराएका हुन् । अभियन्ता र एमालेबीच भिडन्त हुने कुरा प्रचण्डका निम्ति दुःख या अपसोचका विषय होइनन्, हुन सक्दैनन् ! दुई पक्षबीचको भिडन्तलाई तमासा मानेर हेर्ने मानसिकताका मानिसको रूपमा प्रचण्डलाई लिइन्छ । त्यसैले भिडन्तमा साधारण जनताको ज्यान जाने सम्भावनाले पनि प्रचण्डलाई तर्साएको बुझिँदैन, किनभने प्रचण्ड आफै सर्वसाधारणको ज्यान लिने हिंसात्मक गतिविधिको सहारा लिएर सत्ताको यात्रा तय गर्नेमा पर्दछन् । त्यसोभए कुन त्यस्तो कारण होला जसले प्रचण्डलाई नराम्रोसँग झस्काएको छ !?
प्रधानमन्त्री प्रचण्डलाई आफ्नो ‘राजनीतिक सफलता’मा नेपाली जनता, आफ्नो क्षमता, बन्दुक र विदेशी शक्तिमध्ये कसको भूमिका निर्णायक र महत्वपूर्ण थियो भन्ने धेरै राम्रोसँग थाहा छ । जसको काँधमा चढेर रोल्पादेखि नयाँदिल्ली हुँदै सिंहदरबारसम्मको यात्रा गरिएको हो, तिनै शक्ति आफ्नोविरुद्ध लागेको आभाष यतिबेला प्रचण्डलाई भएको छ । खासगरी भारतको दोहोरो भूमिका रहेको सङ्केतहरू मिलेकोले प्रचण्ड झस्केको बुझिएको छ ।
बालुवाटारको एक भरपर्दो सूत्रबाट घटना र विचारलाई प्राप्त जानकारी अनुसार प्रचण्डले यतिबेला सडकमा भइरहेका गतिविधिमा भारतको समेत हात देख्न थालेका छन् । आफूलाई भारतको बलियो समर्थन मिलिरहेको विश्वासमा रहेका प्रचण्ड आफूविरुद्धका गतिविधिमा समेत भारत रहेको भन्ने सूचना पाउन थालेपछि तर्सिएको बताइन्छ । सडक-सङ्घर्षमा उत्रिएका मुख्य ब्यक्तिलाई भारतको प्रधानमन्त्री कार्यालयसम्बद्ध ब्यक्तिले भेटेको, उत्तरप्रदेशको मुख्यमन्त्रीका निकटतम् ब्यक्तिले भेटेर ‘सहयोग’ दिएको भन्नेजस्ता सूचना प्राप्त गरिरहेका प्रचण्डले तिनै अभियन्तालाई भारतको सिलिगुडीमा अभिनन्दन गराइएपछि प्राप्त सूचनाहरू सही हुनसक्ने ठान्न थालेका छन् । भारत कसरीसम्म खेल्नसक्छ भन्ने राम्रोसँग बुझेकाले पनि प्रचण्डमा ज्यादा त्रास पैदा भएको महसूस निकटवर्तिहरूले गरेका छन् ।
प्रचण्डको बुझाइमा भारतले जो सत्तामा रहन्छ उसका विरुद्ध विभिन्न गतिविधि गराएर सत्तारूढ पक्षसँग सम्झौता गरि आफ्ना ‘हिडन’ (गुप्त) कार्ययोजना पूरा गराउने गर्दछ । यतिबेला राजतन्त्र पुनर्स्थापनाको पक्षधरहरूलाई ‘बार्गेनिङ टुल्स’का रूपमा प्रयोग गर्न खोजिएको महसूस प्रचण्डले गरेका छन् । विगतमा आफूहरूलाई देखाएर तत्कालीन सत्तासीनहरूसँग कसरी बार्गेनिङ भइरहेको थियो भन्ने बुझेका हुनाले पनि प्रचण्ड ज्यादा गम्भीर बनेको बुझिन्छ ।
बालुवाटार सूत्रका अनुसार प्रचण्डले आगामी फागुनदेखी वर्तमान संविधान र ब्यवस्थाविरुद्ध निर्णायक सङ्घर्ष गराउने तयारी भइरहेको सूचना पाएका छन् । त्यस्तो सङ्घर्ष राजतन्त्र पुनर्स्थापनाका निम्ति भनिएपनि वास्तवमा राजतन्त्र पुनर्स्थापनाका निम्ति नभइ केवल नेपालमा अस्थिरता पैदा गर्ने उद्देश्यले मात्र हुन लागेको भन्ने प्रचण्डको बुझाइ छ । वर्तमान संविधान विस्थापित गराउने, तर अर्को संविधान बन्न नसक्ने अवस्था पैदा भएमा मुलुक आन्तरिक द्वन्द्व र अराजकताको भुमरीमा फस्ने र, त्यसपछि असफल राष्ट्र घोषणा हुने स्थितिमा पुग्ने आशङ्का प्रचण्डले गरेका छन् । असफल राष्ट्र घोषणा भएमा त्यसलाई सम्हाल्ने जिम्मेवारी छिमेकी मुलुकलाई हुनेछ, कतै त्यस्तै उद्देश्यका निम्ति बाह्यशक्तिले विभिन्न भूमिका निर्वाह गरिरहेको त होइन भन्ने प्रश्नले पनि प्रचण्डलाई नराम्रोसँग घोचिरहेको बताइन्छ ।
दुई वर्षसम्म आफै सरकारको नेतृत्वमा रहने र त्यसपछिका तीन वर्षसम्म सत्ता साझेदारको रूपमा प्रभावकारी भएर रहने सपना-योजनामा रहेका प्रधानमन्त्री प्रचण्ड अहिले आएर सशङ्कित बनेका छन् । केपी ओली र शेरबहादुर देउवाबीच तिहारअगाडि भएको भेटवार्ताले पनि प्रचण्डलाई सशङ्कित र सन्तप्त तुल्याएको हो । आफूलाई एक वर्ष पूरा गर्न पनि नदिइने सम्भावना अब प्रचण्डले देख्न थालेका छन् । अगाडिको यात्रामा के गर्ने र कसरी अघि बढ्ने भन्ने प्रश्नमा उनी विलखबन्दमा परेका छन् । कदाचित वर्तमान संविधानको अन्त्यष्टि भएमा आफ्नो राजनीतिक यात्रामा एकप्रकारले बिराम लाग्ने र, त्यसपछिका दिनहरू कारावासमा बित्ने आशङ्काले पनि प्रचण्डलाई सताएको बुझिन्छ । समग्रमा प्रचण्ड बाह्यशक्तिको अप्रकट भूमिकाका कारण त्रसित बनेको बुझिन्छ, उत्पन्न चुनौतीको सामना उनले कसरी गर्ने हुन् प्रतीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया