दुर्गा प्रसाईंको आह्वानमा बल्खुमा हजारौँको प्रदर्शन

दुर्गा प्रसाईंको आह्वानमा बल्खुमा हजारौँको प्रदर्शन


‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर वर्तमान शासन-व्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बिहीबार बल्खुमा हजारौँ मानिस उपस्थित भएका छन् । बिहान दश-एघार बजेदेखि नै मानिसहरू उपस्थित हुन थालेका र मध्याह्नपछि भीड बढेर हजारौँमात्रामा मानिस राष्ट्रिय झण्डासहित भेला भएका थिए, जसबाट कलंकीदेखि सानेपासम्म चक्रपथ ठप्प पारिएको थियो ।

विभिन्न स्थानबाट बल्खुमा भेला भएका प्रदर्शनकारीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘गणतन्त्र मुर्दावाद’, ‘दलालहरू होसियार’लगायत नाराहरु लगाएका थिए ।

बल्खु क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले आफूहरू ‘मिसन टुडे’मा रहेको र व्यवस्था परिवर्तन गरिछाड्ने बताए । शुक्रबारदेखि आन्दोलन झन् चर्काउने चेतावनी पनि उनले दिए । शुक्रबारदेखि सडकमा गाडी तेर्स्याएर आन्दोलनमा सघाउन ट्याक्सी र टिपरवालासँग प्रसाईंले आग्रह गरे ।

उनले काठमाडौंलाई स्वस्फुर्त रूपमा बन्द गर्न आग्रह गर्दै पसल–सटरहरू बन्द गरेर अभियानलाई सघाउन काठमाडौंबासीसमक्ष आह्वान गरे । प्रसाईंले आफूनेतृत्वको आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै प्रधानमन्त्री प्रचण्डले जनतासमक्ष आत्मसमर्पण गर्नुपर्ने जिकिर गरे ।

आन्दोलनकारीहरू चक्रपथबाट कुलेश्वर–कालिमाटीतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि केहीबेर झडप भएको थियो भने भीड तितरवितर पार्न प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको थियो ।

दुर्गा प्रसाईंको आन्दोलनमा समर्थन जनाउन राप्रपाका नेता तथा सांसद ज्ञानेन्द्र शाही पनि बल्खु पुगेका थिए । उनले प्रदर्शनकारीलाई माइतीघरतर्फ जान उक्साएपछि भीड शहरभित्र प्रवेश गर्न खोजेको थियो, जसबाट झडपको अवस्था निम्तिएको थियो । तर, प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा हानेर भिड तितरवितर पारेको थियो ।