दुर्गा प्रसाईंको दोस्रो दिनको आन्दोलन तीनकुनेमा केन्द्रित हुने

दुर्गा प्रसाईंको दोस्रो दिनको आन्दोलन तीनकुनेमा केन्द्रित हुने


कमल थापाले पनि प्रसाईंको आन्दोलनमा समर्थन जनाए

मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन जारी राखिने प्रसाईंले जनाएका छन् ।

‘ब्यवस्था परिवर्तन नभएसम्मका आन्दोलन जारी रहने उद्घोष गरेका प्रसाईंले काठमाडौंमा मात्र आन्दोलन केन्द्रित गर्ने नभइ उपत्यकाबाहिर ७७ जिल्लामा नै क्रमशः विस्तार हुने जिकिर गरेका छन् ।

बिहीबार बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईंले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ ।’

उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौँ मानिसहरु बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।

यसैबीच काठमाडौंमा ‘ब्यवस्थाविरोधी’ आन्दोलन गरिरहेका प्रसाईंनेतृत्वको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि समर्थन जनाएका छन् ।

संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’ थापाले भनेका छन्, ‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी शुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दछु।’

बिहिवार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाइतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।

‘साथै, आगामी दिनमा सर्वसाधारण जनतालाई कठिनाइ नहुने र विद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरुमा अनुरोध गर्दछु,’ उनको आग्रह छ, ‘राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्छ।’