अङ्ग्रेजी भाषा/साहित्य र नेपालीजनमा यसले पार्ने असर

अङ्ग्रेजी भाषा/साहित्य र नेपालीजनमा यसले पार्ने असर


नेपाल सरकारले जनताको आधारभुत आवश्यकता, मौलिकता र जन्मसिद्ध अधिकार खोस्दै सांस्कृतिक पहिचान र मातृभाषाको घाँटी निमोठ्ने कार्य गरेको छ । अहिलेको ‘लोकतान्त्रिक सरकार’ले बाह्यस्वार्थमा सार्वभौमसत्ता देशका नागरिकको हक-अधिकारलाई आधुनिकता र स्वतन्त्रताको नाममा तिलाञ्जली दिँदै आएको छ ।
✍ काशी पौडेल ‘आयुष’

यमपञ्चक (तिहार)को उमङ्ग र रौनकताले मनमा हर्षोल्लास र आनन्द छाउँदैथियो । दीपावलीको दीपप्रज्वलनले अन्धकारमा उज्यालो छाएर जीवनमा पर्वको आभुषण नै पाएको आभास हुनु स्वभाविक नै हो । किनकि वर्षको एक पटक आउने मौलिक नेपाली पर्व न पऱ्यो । यही रौनकतामा देउसी-भैलो भट्याएर नेपाली एकता र दाजुभाइ-दिदिबहिनी सामिप्यताको कल्याणकारी भूमिका र इमान्दारिता निभाउँदै सांस्कृतिक पहिचान र परम्परा जोगाउने माध्यम पनि हो । तर, आजभोलि परम्परा र सांस्कृतिक पहिचान जोगाएर पुस्तान्तरण गर्नुभन्दा आयातीत संस्कृतिले समाजमा नेपाली एकता, इमान्दारिता भन्दा उच्छृङ्खलता हाबी हुँदै गएको भान हुन्छ ।

अनेकतामा एकता मौलिकतामा समावेशिताको मर्म नै अहिलेको पुस्ताले बिर्संदै गएको हो कि भन्ने लाग्छ । हिन्दी, अङ्ग्रेजी गीतमा देउसी-भैलो गाउने, नाच्ने जमातले रैथाने वाद्ययन्त्र मादल, खैँजडी, सारंगी मुजुरा, मुर्चुङ्गाको धुन भन्दा पश्चिममा संस्कृति, ड्रमसेट र गितारमा आफ्नो भविष्य देख्छन् ।

त्यस्तै, आम पढेलेखेका नेपाली आफ्नो मातृभाषा (नेपाली जातजातिको जुनसुकै भाषा) भन्दा पश्चिमा अङ्ग्रेजी भाषामा आफ्नो इज्जत र भविष्य देख्छ । यही कुराको सेरोफेरोमा रहेर अहिले तिहारको रौनकतामा सांस्कृतिक परम्पराको विकृतिलाई परै या थाती राखेर अङ्ग्रेजीको मोह र पारेको प्रभावको बारेमा लेख्ने जमर्को गरेँ ।

बोर्डस् बसेर तिहारबिदामा छुट्टी मनाउन आएका आफ्ना छोराछोरी अभिभावकसँग नेपाली भाषामा बोल्दा आफ्नो भविष्य नै अन्धकार भएको ठान्छन् । अभिभावकले पनि नेपालीमा भन्दा अंग्रेजीमै बोल्दा आफ्नो इज्जत प्रतिष्ठा बढेको पाउँछन् । अंग्रेजी भाषा एक सामान्य ‘ज्ञान हो, विज्ञान होइन’ भन्ने चेत आम नेपाली, प्राध्यापक, डाक्टर, बुद्धिजीवी साथै शैक्षिक संस्था र तीन तहको सरकारले बुझेको भए हराउँदै गएको राष्ट्रिय भाषा पाठ्यक्रममै राखेर विद्यालय तह छरछिमेक तहदेखि नै चेतना जगाउन राज्य संयन्त्रको सबै श्रोत-साधन लगाउने थिए । गर्भधारणको शुरूवातदेखि आफ्नो बच्चालाई अंग्रेजी आवश्यकता हो भन्दै हरक्षण अंग्रेजी खोक्ने आफन्त, छिमेकी, सरकारी कर्मचारी, नेता-कार्यकर्ता लगायत प्रवुद्ध समुह देख्दा लाग्छ कि यी जमात नेपाली भाषा, पहिचान, अस्तित्व निमिट्यान्न पार्ने पूर्वजन्मका एलिट हुन् ।

सञ्चार, सञ्चारकर्मी, न्यायालय, न्यायाधीश, मन्त्री, मन्त्रालय हुँदै शिक्षालय, शिक्षाविद्, बुद्धिजीवी जनधिकारवाला नागरिक अभियन्ता कोही-कसैलाई आफ्नो भाषा अस्तित्वप्रति न जवाफदेही हुनुपर्छ न त कुनै चिन्ता र चासो नै रहेकोे छ । यिनै ब्यक्तित्व र संस्थाले नेपाल र नेपालीको अस्तित्व बचाउनको अलवा सायदै बेच्न दिलोज्यान लगाउन तल्लीन रहेका छन् । नत्र त यिनका मगजमा अंग्रेजी भाषा पूर्वोत्तर समयमा बेलायती प्रभुत्व र दोस्रो विश्वयुद्धपछि अमेरिकी विश्वब्यापी प्रभुत्वको कारण कयौं अन्तर्राष्ट्रियकरण भएको हो भन्ने ज्ञात हुन्थ्यो !?

सरकारी कामकाजमा नेपाली भाषालाई अनिवार्य गरेपनि कागजी कार्यबाहेकका अरु काम एवम् लवजमा अंग्रेजी भाषाको मोहले आमजनतालाई अचाक्ली बाधा पुऱ्याएको आभास हुन्छ । आम नागरिकको ब्यवहार पनि त्यस्तै लाग्छ । आफ्नो नेपाली भाषा अनिवार्य गर्दै लोप भयो भन्दै चिल्लाउने केही पहिचानवादीले आफ्ना छोराछोरीलाई अंग्रेजी भाषा र पहिचानको दलदलमा डुबाउने कार्य गर्दै मौलिकता, संस्कार, पहिचान र भाषालाई तिरस्कार गरेको पाइन्छ । उदाहरणको रूपमा पारिवारिक स्तरमै अंग्रेजी भाषा, व्यावसायिक रूपका होर्डिङबोर्ड, साइनबोर्ड, लवज र अंग्रेजी विद्यालय लगायतका गतिविधिलाई लिन सकिन्छ । शिक्षा नागरिक जीवनोपयोगी भन्दा युवा पलायनयुक्त रहेको छ ।

यहाँ अंग्रेजी भाषाको विस्तृत कुरा गर्दा युएसए, युके, आयरल्यान्ड, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, फिजी, न्युजिल्यान्ड र जिम्बाब्बे जस्तो १६ देशमा अनिवार्य (राष्ट्रिय भाषा) अंग्रेजी भाषा बोलिन्छ । भने प्रथम विश्वयुद्ध, बेलायती साम्राज्य र दोस्रो विश्वयुद्धपछि अंग्रेजी साम्राज्यवाद र अधिनायकवादको कारण कयौँ देशमा अंग्रेजी भाषा लाद्ने कार्य भइरहेको छ । पाँचौं शताब्दीमा पश्चिम जर्मनी हुँदै इङ्ल्याण्ड पुगेको पाइन्छ । एंग्लो-सेक्सनका मानिसद्वारा बोलिने अनेकौँ बोलीको सम्मिश्रणको रूपलाई पुरानो अंग्रेजी भाषा मानिए पनि अंग्रेजी भाषा आजको दिनसम्म शुद्ध र पुर्ण भने छैन । आठौँ, नवौँ शताब्दीमा वाइकिङ हमलाद्वारा पुरानो नोर्स कविला भाषाले अंग्रेजी भाषामा प्रभाव पारेको थियोे । नार्मन युद्धको विजयले पुरानो अंग्रेजीलाई मध्य-अंग्रेजीमा रुपान्तरण गरेको पाइन्छ । ग्रीक, ल्याटिन, नार्मन, कविल, एंग्लो हुँदै विभिन्न एसिएन, अफ्रिकी, ल्याटिन अमेरिकी भाषा र नियमको प्रभावले नयाँ अंग्रेजी भाषामा अहम् भूमिका खेलेको छ ।

सन् ५०० देखि सन् ११०० सम्म अर्थात (छैटौंदेखि बाह्रौँ शताब्दीसम्म) पुरानो अंग्रेजी भाषाको युग मानिन्छ । एघारौँ शताब्दीमा ड्युक अफ नारमन्डीहरूले इंग्ल्याण्डमा हमला गर्दै, यहाँका एंग्लो सेक्सन कविलहरूलाई पराजित गर्दै पुरानो फ्रान्सेली भाषाको शब्द मिश्रण गर्दै लगे । यो कार्य सन् १५०० सम्म निरन्तर चल्यो । यसैलाई अंग्रेजीको मध्यकालीन समय मानिन्छ । यही समयमा कानुन, दण्ड नियमनमा अंग्रेजी भाषाको लिखित शुरूवात भएको पाइन्छ ।

सन् १५०० देखि आधुनिक अंग्रेजी भाषाको युग शुरु भएको पनि मानिन्छ । सेक्सपियरको साहित्य यही कालखण्डमा भएको थियोे । यसै समयमा युनानी भाषासंगै एसियाली, अफ्रिकी, ल्याटिन अमेरिकी भाषाको कयाँ शब्दको मिश्रण यही कालखण्डमा भएको पाइन्छ । यो कार्य निरन्तर सन् १८०० सम्म चल्यो । बेलायती उपनिवेश र अमेरिकी कुटनैतिक साम्राज्यवादका कयौँ देशका भाषाहरूको सम्मिश्रण नै आधुनिक अंग्रेजी युगको कालखण्ड मानिन्छ । यिनै विभिन्न भाषाको मिश्रणले नै आजको अंग्रेजीमा सरलीकरण भएको हो । लिखित साहित्य कानुन दण्डहीनताको कुरा गर्दा अंग्रेजी साहित्यमा चौंसर साहित्यलाई महत्त्वपूर्ण युग शुरूवात मानिन्छ । तथापि अंग्रेजी शब्दमा अझै पुर्णता भने पाइँदैन । अंग्रेजी भाषामा शब्दको अर्थ र अक्षरको स्वराङ्कनको एकरूपता पटक्कै मिल्दैन । तमाम विश्व राजनीति, साहित्य, व्यावसायिक भू-मण्डलिकरणको भाषा अंग्रेजीमा अमेरिकी साम्राज्यवादको बढ्दो प्रभावले विशेष भूमिका खेलेको छ । शुरूवातको चरणमा ब्रिटेनको साम्राज्यवादले आफ्नो बर्चस्वसँगै अंग्रेजी भाषा फैलाउने कार्य गरेपनि अंग्रेजी साहित्य, सरलीकरण र विश्वब्यापीकरणमा सुगम पहुँचमा पुऱ्याउन भने अमेरिकी हैकमवादी सिद्धान्तको अहम् भूमिका रहेकोे छ ।

नेपालको सरकारले शिक्षा जस्तो जनताको आधारभुत आवश्यकता, मौलिकता र जन्मसिद्ध अधिकार खोस्दै सांस्कृतिक पहिचान र मातृभाषाको घाँटी निमोठ्ने जस्तो घृणित कार्य गरेको छ । अहिलेको लोकतान्त्रिक सरकारले युरोपेली युनियनका स्वार्थमा सार्वभौमसत्ता देशका नागरिकको हक-अधिकारलाई आधुनिकता र स्वतन्त्रताको नाममा तिलाञ्जली दिँदै आएको छ । त्यसैकारण एकातिर जन-जनमा आफ्नो राष्ट्रिय भाषाप्रति घृणा पैदा गर्दैछ । भने हरेक घरदेखि मातृभाषा नै लोप हुने अवस्था उन्मुख भइरहेको छ । जनताले आफ्ना छोराछोरीको भविष्य अंग्रेजी भाषामा नभइ अनुभव र सिकाइमा देख्नसक्ने चेतनाको विकास गर्नुपर्छ । साथमा सरकारले आफ्ना नागरिकलाई अंग्रेजी भाषाको भारी बोकाएर पश्चिममा एनजीओ/आईएनजीओको हिफाजतको निमित्त स्वार्थी मिसनको लगाम लगाउनुभन्दा विद्यार्थीकालदेखि नै कामको सिकाइ र कार्य-विज्ञतामा दखल राख्ने वातावरणको सृष्टि गर्ने खुबी राख्नुपर्छ । तब मात्र देशले आर्थिक सम्पन्नता र समृद्धिको शिखर चुम्न सक्छ । साथै, नागरिकको जीवनमा देश भेषभुषा, भाषा र देशभक्तिप्रति अगाध स्नेह भाव जागृत हुन्छ । जय मातृभूमि ।