आगामी निर्वाचनमा काङ्ग्रेस एक्लै निर्वाचनमा जाने गगनको जिकिर

आगामी निर्वाचनमा काङ्ग्रेस एक्लै निर्वाचनमा जाने गगनको जिकिर


  • आरपी उपाध्याय, नवलपरासी

नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले काङ्ग्रेस पार्टीभित्र मौलाएको नातावाद, कृपावाद र आफन्तवाद जस्ता क्रियाकलाप त्याग्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले ठूलो राजनीतिक शक्तिको रुपमा रहेको नेपाली काङ्ग्रेस तेस्रो ठूलो शक्तिसङ्ग मिलेर सरकार बनाएको पीडा असहय रहेको उल्लेख गर्दै २०८४ सालको संघीय निर्वाचनको परिणाम जे जस्तो आएपनि नेपाली काङ्ग्रेस एक्लै निर्वाचनमा जाने जिकिर गर्दै काङ्ग्रेसको तल्लो तहको कार्यकर्ताको इच्छाशक्ति बलियो र उर्जावान भएकै कारण पार्टी अहिले पनि लक्ष्यतर्फ बढेको धारणा राखे ।

नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र न.२ को क्षेत्रिय सम्मेलनलाई नवलपुरको डण्डामा सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी संगठनलाई बलियो बनाउन पटकपटक अवसर पाएकाहरुलाई थप जिम्मेवारी नदिने गरि अवसर नपाएका पार्टीको विभिन्न तहमा रहेको नेताकार्यकर्तालाई अवसर दिने किसिमको नीति बनाउन पार्टीले आवश्यक परे विधान संसोधन गरेर भएपनी अगाडी बढ्नुपर्ने कुरा औल्याउँदै सबै नेताकार्यकर्ताले गुट उपगुटबाट मुक्त भएर नीति र सिद्धान्त केन्द्रित कार्य गर्न सबै नेताकार्यकर्तालाई निर्देशन दिए ।

सो अवसरमा गण्डकी प्रदेश सरकारको उर्जा, खानेपानी तथा जलस्रोत मन्त्री एवं नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य सरस्वती तिवारी, नेपाली काङ्ग्रेस नवलपरासीका सभापति समेत रहेका गण्डकी प्रदेश सरकारकै कृषि, भूमि तथा व्यवस्थापन मन्त्री महेन्द्रध्वज जिसीले पनि क्षेत्रिय भेलालाई सम्बोधन गरेका थिए ।

क्षेत्रिय सभापति जगतबहादुर कार्कीको अध्यक्षतामा आयोजित क्षेत्रीय भेलामा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटी र सीतादेवी पाण्डे, नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, क्षेत्रिय सहसंयोजक सुर्य गुरुङ्ग लगायतले क्षेत्रिय भेलामा आफ्नो भनाइ राखेका क्षेत्रियसचिव राजु पाण्डेले जानकारी दिए ।

भेलामा क्षत्रिय प्रतिनिधि भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु र सर्वसाधारणको पनि उपस्थिति रहेको थियो।