वर्तमान सत्ता गठबन्धन तोडेर अगाडि बढ्न डा. शेखर कोइरालाले तदारुकता नलिएपछि काङ्ग्रेस महामन्त्री गगन थापा कोइरालाप्रति चिसिएका छन् ।
सभापति शेरबहादुर देउवासँग लड्न शेखरलाई अगाडि सार्ने, तर अवसर आउँदा लाभ लिनचाहिँ आफै अघि सर्ने गगनको चरित्रका कारण शेखर होशियारीका साथ कदम चाल्ने मानसिकतामा रहनुभएको बुझिन्छ । तर गगन जतिसक्दो चाँडो केपी शर्मा ओलीसँग कुरा मिलाएर विद्यमान सत्ता गठबन्धन तोड्ने पक्षमा छन् र, यो गोलमाल गर्ने कार्यको अगुवाइचाहिँ शेखरकै नेतृत्वमा सम्पन्न होस भन्ने चाहन्छन् । गगनको इच्छा र योजना अनुसार चल्न नखोजेपछि डा. शेखर कोइरालाप्रति गगनको असन्तुष्टि प्रकट हुन थालेको छ ।
प्राप्त जानकारीअनुसार शेखर आगामी दुई महिनासम्मको स्थिति हेरेर मात्र अगाडिको ‘यात्रा’ तय गर्ने पक्षमा छन् । गठबन्धन बदल्दा काङ्ग्रेसलाई लाभ पुग्नेगरी गर्नुपर्ने कोइरालाको भनाइ रहने गरेको छ । तर गगन वर्तमान गठबन्धन भत्काउने बित्तिकै आफूहरूलाई लाभ पुग्ने ठान्दछन् ।
यो गठबन्धन तोडिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना नरहने र देउवा प्रधानमन्त्री नरहेको अवस्थामा काङ्ग्रेसको आगामी महाधिवेशनमा आफ्नो टिमलाई जिताउन सजिलो हुने बुझाइ गगनमा रहेको बताइन्छ । जबकि शेखर कोइरालाले भने काङ्ग्रेसको (आफ्नो) नेतृत्वमा नयाँ सरकार बन्ने ग्यारेण्टी नभएसम्म वर्तमान सरकारलाई विस्थापित गराउन नचाहेको बुझिन्छ ।
वर्तमान गठबन्धन टुट्नेबित्तिकै गगन आफै प्रधानमन्त्री बन्न अग्रसर हुने आशङ्का काङ्ग्रेसको कोइराला पक्षले गरेको छ । गगनमाथि नै विश्वास गर्न नसकिने स्थिति रहेकोले पनि शेखर हच्किनुभएको बुझिएको छ ।
प्रतिक्रिया