दश वर्ष कान्छी मणिपुरे मोडलसँग बाँधिँदै रणदीप

दश वर्ष कान्छी मणिपुरे मोडलसँग बाँधिँदै रणदीप


बलिउडका चर्चित अभिनेता रणदीप हुड्डा पछिल्लो केही दिनयता आफ्नो विवाहको खबरका कारण चर्चामा छन् । प्रतिभाशाली यी अभिनेताले अन्ततः आफ्नो बिहेको खबरका साथै हुनेवाली दुलहीसँगको तस्बिर फ्यानहरूसँग साझा गरेकना छन् ।

हो, रणदीप हुड्डाले सामाजिक सञ्जालमा प्रेमिका लीन लैशरामसँग विवाहको घोषणा गरेका छन् । इन्स्टाग्राममा विवाहको कार्ड सेयर गर्दै रणदीपले विवाहको मिति र स्थानबारे जानकारी दिएका छन् । मणिपुरे मोडलसँग हुन लागेको बिहेबारे जानकारी दिने क्रममा आफ्नो पोस्टमा महाभारतलाई जोड्दै रणदीपले ‘अर्जुनले मणिपुरकी योद्धा राजकुमारी चित्राङ्गदासँग विवाह गरेका थिए भने हामी पनि परिवार र साथीभाइको शुभकामनाका साथ विवाह गर्न गइरहेका छौँ’ भनेका छन् ।

‘हामी यो जानकारी गराउन पाउँदा खुसी छौँ कि हाम्रो विवाह २९ नोभेम्बर २०२३ मा इम्फाल, मणिपुरमा हुँदैछ, रिसेप्शन मुम्बईमा हुनेछ । हामी नयाँ यात्राको थालनी गर्न जाँदैछौं, हामी संस्कृतिहरूको मिलनका लागि तपाईंको आशीर्वाद र माया चाहन्छौं, जसको लागि हामी सधैं ऋणी र आभारी रहनेछौं’– हुड्डाले भनेका छन् ।

यसरी रणदीपले विवाहको विवरण सेयर गरेपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका खबर भाइरल हुन थालेका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार रणदीप हुड्डा र लिन लैशरामको विवाहको विषय पौराणिक कथामा आधारित हुनेछ । विवाहपछि जोडीले मुम्बईमा भव्य रिसेप्शन दिनेछ, जहाँ सबै बलिउड सेलिब्रेटीहरू उपस्थित हुनेछन् ।

रणदीपकी भावी पत्नी लीन लैशराम अभिनेताभन्दा करिब १० वर्ष कान्छी छन् । रणदीप ४७ वर्षका छन् भने लिन लैशराम ३७ की भइन् । अभिनेत्री हुनुका साथै लीन लैशराम मोडलिङमा पनि निकै सक्रिय छिन् ।