कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने !

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने !


कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाइल प्रयोग गर्न नपाउने निर्देशन जारी गरेका छन् ।

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराइ नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनको तर्क छ ।

प्रहरी नायब महानिरीक्षक ढकालले भनेका छन्, ‘कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम ल्याइएको हो ।’

ढकालका अनुसार टोली कमाण्डरको हकमा चाहिँ यो नियम लागू हुने छैन । जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गर्न यो व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

कर्तव्यपालनाको सिलसिलामा मोबाइल नचालाउँदा आपराधिक गतिविधिको उच्च निगरानी गर्न सकिने, अपराध भएमा तत्काल अनुसन्धान हुने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने जिकिर उनले गरेका छन् ।

यसबाट प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च वचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको ढकालको भनाइ छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन÷नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको पनि प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिएका छन् ।