पैसा

पैसा


✍ आचार्य प्रभा

कुन विषयमा पैसाको हैकम छैन ?
जहाँतहीँ, जहिलेसुकै
पैसाकै बोली बिक्छ
साहित्यमा होस् वा गीत, संगीतमा
कलामा होस् वा राजनीतिमा
जहाँतहीँ, जताततै पैसाकै छ बोलबाला
पैसा छैन सब निरर्थक !
पैसाको अभावमा सब चिज बेअर्थ
गीतको शब्दलाई पैसाले पूर्ण अंग दिने
जस्तोसुकै प्रतिभा पनि गोजी रित्तो भए
सृजनाशून्य देखिने,
पैसाको मुठो भए कविताका हरफहरु पनि
पुस्तकको ठेलीमा परिभाषित हुने
पैसा नभए सुन्दर भावहरु पनि
तिरष्कृत भएर मस्तिष्कभित्रै सेलाउने ।
हो, पैसा नै रहेछ
एउटा कलाकारको सुन्दर चित्रलाई महत्व दिने
रित्तो गोजी भए ती कला कोर्ने∕कुँद्ने
औंलाहरू पनि अपाहिज बन्ने
यही पैसाले सुरिला∕ओजिला गलाहरुलाई
गायकको उपमा दिने
यो नभए ती कोकिलकण्ठी गला पनि
नेपथ्यमा बिलाउने,
त्यसैले पैसाभन्दा ठुलो के रहेछ ?
जसले साहित्यकार, कलाकार
ऐजन∕ऐजनको उपाधि दिलाएर
माला, खादा भिराइदिने
जसले राजनीतिको कुर्सीदेखि
संघ, संस्था आदित्यादिको
गहकिलो कुर्सीमा विराजमान गराइदिने
त्यसैले भनौँ पैसा ठुलो हो
तर शाश्वत कला र प्रतिभा ठुलो मात्र होइन
जोबिना पैसा फस्टाउन नसके पनि
स्वाभिमान र सगरमाथा झैँ अग्लो शीर लिएर
बाँच्न पाउनु महत्वपूर्ण कुरा हो
तर आजको दुनियाँमा बिनापैसा
स्वाभिमान पनि अपाङ्ग बनिरहेछ
त्यसैले पैसालाई नै ठुलो बनाइरहेछ
सृजनशील मनहरुको आत्मबल गिराइरहेछ
पैसाको पछि कुद्न बाध्य बनाइरहेछ।

  • हाल : अमेरिका