पशुपतिमा आउँछन् खाल-खालका पर्यटक, लुटिन्छन् अनि प्रहरीमा पुग्छन्

पशुपतिमा आउँछन् खाल-खालका पर्यटक, लुटिन्छन् अनि प्रहरीमा पुग्छन्


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

पशुपतिनाथको दर्शन गर्नदेखि यहाँको पुरातात्विक महत्व, हिन्दु संस्कारको जानकारी लिनदेखि भिडियो, डकुमेण्ट्री बनाउनसम्म पर्यटकको घुइँचो लाग्ने गरेको छ । यस्ता शुभ सोचेर आउने एक प्रकारका पर्यटक छन् भने अर्काथरी विचित्रको माहोल देखाउँछन् ।

रसियाका नागरिक भिखालेस्कीले अचम्मको कर्तुत देखाएको पशुपतिनाथ क्षेत्रमा तैनाथ पर्यटन प्रहरीका एक जुनियर अधिकृतले बताए । ती अधिकृतका अनुसार भिखालेस्कीले पशुपति क्षेत्रमा चिहानबाट मानिसको खुट्टा नै झिकेर ल्याएछन् । घुँडामुनिको भरखरै गाडिएको मानिसको खुट्टोसहित उनलाई पर्यटन प्रहरीले नियन्त्रणमा लियो । ती रसियन नागरिक ‘आफू हिन्दु भएको र आफ्ना गुरुले नलीखुट्टो ल्याउनु भनेकोले ल्याएको बताइरहेका थिए’ ती अधिकृतले घटना र विचारलाई भने ।

भर्खरै एक चिनिया टोली पशुपतिनाथ क्षेत्र पुगेको थियो । त्यो टोलीले त ड्रोन नै पो उडायो । पशुपतिमा आउने भक्तजन रमाइलो मान्दै ड्रोनको अवलोकन गर्दै थिए । तर, पर्यटन प्रहरीले ड्रोन उडाउन रोकेर चिनिया टोलीलाई फर्कायो ।

पशुपतिनाथमा दैनिक १० हजारको हाराहारीमा दर्शनार्थीदेखि पशुपतिको पुरातात्विक महत्व र हिन्दु संस्कारको जानकारी लिन पुग्छन् । तीमध्ये भारतीय १ हजार ५ सय र ४ सयदेखि ५ सय अन्य विदेशी मुलुकका तथा बाँकी नेपाली हुन्छन् । हाल पर्यटन क्षेत्रको भाषामा ‘अफ सिजन’ हो । हिउँद र वर्षादको समयबाहेक भने यो संख्या दोब्बरले नै बढ्छ ।

भारतीय नागरिकहरू अर्काे बेतालका भेटिएका छन् । बिचौलियाले भनेको मानेर पशुपतिनाथ क्षेत्र र आसपासका डान्स, गजल बारदेखि स्पासम्म पुग्छन् । मोजमस्ती गर्छन् । उठ्ने बेलामा मोवाइल, ल्यापटपसम्म धरौटी राखेर हिँड्छन् । अनि पर्यटन प्रहरीसमक्ष उजुरी लिएर आउँछन् ।

हालै रियल डान्सबार रातोपुल लगिए एक भारतीय नागरिक निर्भय पुृरी । उनका साथमा युवतीहरू राखेर ३० हजार रुपैयाँको बिल उठाइयो । बिल तिर्ने पैसो नभएपछि उनलाई बन्धक बनाउँदै कुटपिट पनि गरियो । त्यहाँ मोवाइल छोडेर आएका पुरीलाई पर्यटन प्रहरीले मोवाइल फिर्ता दिलाएपछि उनी भारत फर्किए ।

यस्तै लिरिक्स डान्सबार सुकेधारामा भारतीय नागरिक सन्दिपकुमार र अमित पासवानलाई पशुपतिमै रहेका बारका एजेण्टले लगे । ७० हजार रुपैयाँ बिल उठायो बारले । मोवाइल धरौटी राखेर पशुपति आए । अनि पर्यटन प्रहरीले मोवाइल फिर्ता गराएपछि मुद्धा नचलाउने सन्दिप र अमितको आग्रहअनुसार लिरिक्स कानुनी दायरामा आउनु परेन ।

बसबाट राजधानीसम्म आउने कतिपय भारतीयसित पर्याप्त पैसा हुन्न । अनि पशुपतिमै बिचल्ली परेपछि आफन्त खोज्दै महिला भए माइती नेपाल र पुरुष भए भारतीय दूतावाससम्म समन्वय गरेर फर्काउने गरिएको पर्यटन प्रहरी भृकुटीमण्डपका प्रमुख नरेन्द्र कुँवर घटना र विचारलाई बताउँछन् ।