गणेश नेपालीको आत्मदाहको घटनाबारे छानबिन गर्न नेता आङ्देम्बेको माग

गणेश नेपालीको आत्मदाहको घटनाबारे छानबिन गर्न नेता आङ्देम्बेको माग


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जलनबाट घाइते मुगुका युवा गणेश नेपालीको निधन भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् ।

दिवङ्गत नेपालीलाई श्रद्धाञ्जली दिन आज (२६ असार) चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) पुग्नुभएका नेता आङ्देम्बेले काम गरेर खाने एक युवालाई उचित वातावरणको अभाव हुँदा यस्तो घटना हुन पुगेको जिकिर गर्नुभयो । उनले यसबारे सरकार गम्भीर भइ विगतदेखि नै भएका यस्ता घटनाको छानबिन गर्नुपर्नेमा जोड दिए ।

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भइ निधन भएका गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैं निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय विषय भएको जनाइएको छ ।

वक्तव्यमा मृतक नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखद् घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कानुनी कारबाही गर्न र पीडितपरिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको छ ।