अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल

अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल


पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता’ सञ्चालनको तयारी गरिएको छ ।

स्थानीय स्तरबाट देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरा महानगरपालिका भलिबल सङ्घको आयोजनामा आगामी पुस १४ देखि १६ गतेसम्म फेवाताल किनार बसुन्धरा पार्कमा प्रतियोगिता हुँदैछ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५औँ संस्करणको आकर्षणका रूपमा सो प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा १२ वटा टोली सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा पोखराबाहिरका क्लब पनि सहभागी हुन पाउने र टोलीमा दुईजनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने सङ्घका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले बताए ।

उनका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११ र उपविजेताले रु ७७ हजार सात सय ७७ सहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

यसैगरी ‘बेस्ट सेटर’, ‘बेस्ट स्पाइकर’, ‘बेस्ट सर्भर’, ‘बेस्ट ब्लकर’, ‘बेस्ट डिफेन्डर’ले जनही रु तीन हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजारसहित कप र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने विश्वास लिइएको बताए ।

सामुदायिक एवं संस्थागत विद्यालयमा रहेका भलिबल खेलाडीलाई प्रतियोगिताले भलिबल खेलप्रति ऊर्जा भर्ने आयोजकको भनाइ छ ।

‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्सहान’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगिता पोखरा महानगर खेलकुद विकास समितिको समन्वय तथा पोखरा महानगरपालिका प्रवद्र्धक रहेको छ ।