अफवाह फैलाइएपछि एनआरएनए बेल्जियम अध्यक्षले दिइन् यस्तो प्रष्टिकरण

अफवाह फैलाइएपछि एनआरएनए बेल्जियम अध्यक्षले दिइन् यस्तो प्रष्टिकरण


  • युरोप प्रतिनिधिबाट

आफूमाथि आर्थिकलगायत विषयमा अफवाह शुरु गरिएपछि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले पत्रकारहरुसमक्ष आरोपको खण्डन गरेकी छन् । पत्रकारसँगको साक्षात्कारमा उनले आफूलाई केही ब्यक्तिले नियोजित रुपमै चरित्रहत्या गर्न लागिपरेको जिकिर गरेकी छन् ।

भूकम्पपीडितको राहतका लागि संकलित चन्दा रकम ब्यक्तिगत खातामा जम्मा गरेको, नयाँ गाडी खरिद गरेको र प्रवक्ता चयनमा व्यक्तिगत स्वार्थ हेरेर निर्णय लिएको जस्ता विषयमा अफवाह फैलाएको भन्दै प्रमाणसहित आफूमाथि लागेका आरोपको उनले खण्डन गर्दै स्पष्ट पारेकी हुन् ।

आरोप लगाउनेहरुलाई उनले चुनौती दिँदै ‘कि पुष्टि हुने प्रमाण देउ, हैन भने कसैलाई सक्न बिनाप्रमाण चलाइने मिसन आत्मघाती हुनसक्छ’ भन्दै बेल्जियमको समाजमा अविश्वास र फुट चाहनेहरुले बेलाबेलामा यस्ता भ्रमहरु छरिरहने भएकोले सचेत रहन समुदायलाई उनले आग्रहसमेत गरिन् ।

पत्रकारहरूले एनआरएनएको वर्तमान अवस्था, निर्णयहरुको अवस्था, कमजोरी र अभियानका अन्य पक्षबारे अध्यक्ष सापकोटासँग जिज्ञासा राखेका थिए ।

सो अवसरमा पत्रकारहरु डिल्ली अम्माई (घटना र विचार), केजिन राई (न्युज २४), ओम शर्मा (चार दिशा अनलाइन), पंचम अधिकारी (कान्तिपुर) तथा एनआरएनए बेल्जियमको फेस डेक्समा अध्यक्ष सीता सापकोटा र उपाध्यक्ष इन्दिरा चाम्लिङको उपस्थिति रहेको थियो।