फेला परे ६८ करोड भ्रष्टाचार गरेका पाँच जना

फेला परे ६८ करोड भ्रष्टाचार गरेका पाँच जना


  • सुरेन्द्र सुवेदी, काठमाडौं

ठूलो रकम अर्थात् ६८ करोड रुपैयाँबढी भ्रष्टाचार गरेका पाँच व्यक्ति पक्राउ परेका छन् । राजधानीको विशेष अदालतको फैसलापछि फरार रहेकाहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामा मणिराज दाहाल, नयराज नेपाल, कुमार बहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल छन् । दाहाललाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैयाँ जरिवाना तोकिएको छ । नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैयाँ जरिवाना विशेष अदालतले तोकेको छ ।

यस्तै, कटुवाललाई १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैयाँ जरीवाना र ६ बर्ष कैद, अधिकारीलाई ९ वर्ष कैद, २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ र नेपालबाट ८ वर्ष ६ महिना कैद तथा २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ असुल गर्न अदालतले आदेश दिएपछि उनीहरू फरार थिए । सरकारी राजश्व हिनामिना गरेका उनीहरूबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र जरिवाना ६८ करोड ३२ लाख २२ हजार ३ सय ८ रुपैयाँ असुल हुने प्रहरी जनाउँछ ।

मोरङ प्रहरीले चलाएको विशेष अभियानअन्तर्गत विशेष अदालतको गत वर्ष चैत ८ गतेको फैसलाले भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भएका उनीहरु हिजो पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताए ।

प्रहरीको विशेष अभियानअन्तर्गत यो आर्थिक वर्षमा २ सय १० जना प्रतिवादी पक्राउ परिसकेको डिएसपी दाहालले घटना र विचारलाई जानकारी दिए । पक्राउ गरिएकाबाट सरकारलाई ६८ करोड ६८ लाख २६ हजार ७ सय ३२ रुपैयाँ जरिवाना असुल भइसकेको छ ।