स्रोत नखुलेको सुन-चाँदी पगालेर बिक्री गरेपछि भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको सुन-चाँदी पगालेर बिक्री गरेपछि भारतीय नागरिक पक्राउ


खरिदको स्रोत नखुलेका सुन-चाँदीका गरगहना र रकमसहित एक भारतीय नागरिकलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन र चाँदी गालेर बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका-७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, चाँदी एक हजार नौ सय एक दशमलव २६ ग्राम तथा नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो ।

पक्राउ परेका विभुतेबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको प्रहरीले जनाएको छ ।