उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य, तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य, तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने


उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता उहाँ मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठको उपचारका क्रममा गरिएको परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो । मुटुमा हल्का असहज महसुस भएपछि गएराति उहाँ अस्पताल भर्ना हुनुभएको हो ।

अस्पतालका चिकित्सक डा. अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको गृह मन्त्रालयले जनाएको छ ।सघन उपचार कक्षमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठको हालस्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उहाँलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरूबीच सामान्य कुराकानीसमेत भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

photo: rss