सेनामा बढुवाको समयमा अतिरञ्जित प्रचारवाजी हुन्छ : प्रधानसेनापति शर्मा

सेनामा बढुवाको समयमा अतिरञ्जित प्रचारवाजी हुन्छ : प्रधानसेनापति शर्मा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्माले नेपाली मिडियाले अतिरञ्जित सूचना प्रकाशन गर्दै प्रचारवाजी गरेको आरोप लगाएका छन् । उनले रथी दर्जामा पदोन्नति प्रक्रिया शुरु भएसँगै सम्भावित उम्मेद्वारको उमेर, शैक्षिक योग्यतासमेतलाई विषयबस्तु बनाउँदै अतिरञ्जित तवरले प्रचारबाजी भएको बताए । उनले भने, ‘प्रधान सेनापतिले शैक्षिक प्रमाणपत्र, नागरिकताजस्ता कागजात आवश्यकताअनुसार सम्बद्ध निकायबाट प्रमाणित गरेरमात्र जङ्गी अड्डाले कारवाहीअघि बढाउने गरेको छ ।’

प्रधान सेनापति शर्माले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीको कागजात शंकास्पद देखिएकोले कारवाही गर्न सिफारिस गरेको उदाहरण पनि दिए । उनको भनाइको आसय उपरथी ताराध्वज पाण्डेको नागरिकतामा उमेर घटाएको प्रकरण थियो ।

संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने कुरा बताउँदै स्वस्थ प्रतिष्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएतापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न सकलदर्जालाई महारथी शर्माले सुझाव दिएका छन् ।

गण तथा गुल्महरुको कमाण्ड गरिरहेका एवं निकट भविष्यमा कमाण्डमा नियुक्त हुन लागेका अधिकृतहरुका लागि सञ्चालित ‘कमाण्डिङ अफिसर्स ओरिन्टेसन प्रोग्राम’ का सहभागीलाई मंगलबार जंगीअड्डामा सम्बोधन गर्दै प्रधानसेनापतिले उक्त कुरा बताएका हुन् ।

महारथी शर्माले वर्तमान अन्तराष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय परिस्थितिको संक्षिप्त चर्चा गर्दै तिनले नेपालको राष्ट्रिय सुरक्षा लगायत राष्ट्रहितका विविध क्षेत्रमा परिरहेको र पार्न सक्ने असरहरुका साथै नेपाली सेनाको दायित्वका बारेमा पनि आफ्नो धारणा राखेका थिए ।