कथा
✍ मौन आवाज
गेट खुल्यो ।
गेटबाट मान्छे भित्र पस्यो । गेट बन्द भयो । मान्छे भित्र छिऱ्यो- कारखानामा !
गाउँमा यतिखेर आरुका फुलहरू फुलेका छन् । अचेल उस्तो निरस अनुभूति देखिँदैन कतै ! त्यो मान्छेको मन, जसले पहिलोपटक कारखानामा प्रवेश गऱ्यो, त्यो कुरा सम्झ्यो, लगत्तै बिर्स्यो !
उसले खासै त्यस्तो केही योजना बनाएर शहर पसेको थिएन । रातभरिको बसको यात्रापछि त्यो मान्छे यो शहर छिरेको थियो ।
कारखाना, उसले सुनेको थियो जहाँ मान्छे मेसिन हुन्छ । तर उसलाई त्यस्तो लागेन । किनभने, उसलाई भोक लाग्न थालेको थियो ।
२ बजे ! खाजाको समय, असंख्य उ जस्तैहरूसँग उ बाहिर निस्क्यो । जतिबेला, आमाले भनेकी थिइन्- ‘तेरा बाबा मुग्लान पस्दा पैसा बचाउन चिउरा र पानीले काम चलाउँथे ।’
२ बजे उसले ती कुराहरू सम्झे पनि आजलाई बिर्सिदियो ।
गेट खुल्यो । गेटबाट उ जस्तै असंख्य मानिसहरू भित्र पस्यो । गेट बन्द भयो । अब पर्खालहरू उभिएको भीमकाय बन्द परिवेशमा उसले गोठालो जाँदा गाएको गीत गाउन थाल्यो ।
तर, जो त्यस कारखानाको नाइके हो, गीत नगाउन आदेश दियो । साथै कारखानाको अनुशासन र नियम पनि सुनायो । भित्र छिर्ने । जसको जे काम हो त्यो गर्ने । कसैले कसैसँग दोहोरो संवाद नगर्ने । चुपचाप बस्ने । केही नबोल्ने । यताउती नहेर्ने । अर्थात्- यन्त्रसँग यन्त्रवत् निरन्तर चलिरहने !
उसले कुरा बुझ्यो । उ चुपचाप मेसिनमा आफूलाई र आफूमा मेसिनलाई दौडाउन थाल्यो ।
समय कसरी बित्दै जान्छ ? जब बेतोड भेल उर्लिएको बेला- नदी किनारामा उ उभिएको थियो । धमिलो पानीको महाप्रलयरूप उफ्रँदै उफ्रँदै अनन्ततिर हान्निरहन्थ्यो । हेर्दाहेर्दै त्यस्ता अनगिन्ती क्षणहरू बित्दै जान्थ्यो ।
र, आखिरमा जब नदी सुक्थ्यो । केवल पानीका छालहरूले बनाएको जीर्ण आकार बाँकी रहन्थ्यो । कंकाल आकृति – सम्पूर्ण रिक्ततासहित उसको जीवन त्यही नदी हुन्थ्यो !
निरन्तर गेट खुल्थ्यो । बन्द हुन्थ्यो । मान्छेहरू कारखानामा मेसिन चलाउँदै रहन्थ्यो । मेसिन चल्दै रहन्थ्यो । मौनता छिप्पिँदै छिप्पिँदै जान्थ्यो । क्रमशः मान्छेका हातहरू फलाम हुँदै जान्थ्यो । खुट्टाहरू फलाम हुँदै जान्थ्यो । मन र यन्त्रबीच अचम्मको सम्बन्ध स्थापित हुँदै जान्थ्यो ।
कुनै साँझ ।
जब कोठामा उ एक्लै थियो । उ साँच्चै नै एक्लै थियो । उसले आफुमा केही परिवर्तन हुँदै गएको अनुभव गऱ्यो ।
ईश्वर जस्तो कुनै शक्तिसँग टाढिँदै गए जस्तो । दिन र रात, सुख र दुःख यी सबै तत्वहरू छँदै छैनन् जस्तो । चिसो र तातो छुट्याउन गाह्रो हुँदै गए जस्तो ! जब उसले यस्तो सोच्यो, उ किन्चित हाँस्यो ।
आश्चर्य ! उभित्र कुनै खुसी थिएन ।
र उसले हाँसेको, केही सोचेको र, भर्खरै आफैसँग कुरा गरेको पनि बिर्स्यो !
मस्तिष्कमा अनन्तसम्म तन्किएर केही अमुक कुराहरू खेलिरहेको थियो । आमा…, आरुका फुलहरू, …गोठालो जाँदा गाएका गीतहरू, …उसले यस्तै केही स्मृति र विस्मृति बीचका अन्तरालहरू कारखानामा व्यतीत हुँदै गएको महसूस गऱ्यो ।
कुनै अघोषित यातनाले थिच्चिएर बाँच्नु नामको सक्रियता आजसम्म निरन्तर मेसिनझैँ चलिरहेको थियो ।
जीवन एउटा कारखाना हो र मान्छे एउटा निर्जीव मेसिन ! अन्तिमपटक जब घरमा बाबाको लास आइपुगेको थियो– आमाको आँखाबाट सहस्र बग्दै गरेको पीडा, चीत्कार र अत्यासहरूले त्यो सानो बालकलाई एकछिनको लागि सानो मेसिन बनाएको थियो ।
बाबाको मृत्यु कारखानाको मेसिनबाट किचेर भएको थियो । कारखाना, मेसिन… र आमा… आरुका फुलहरू… जीवनको यो लामो अन्तराल… गाउँ, समस्या, अभाव र मुग्लान… ।
दिनहरू यन्त्रवत् बितेर गइसकेको थियो । तर, जब आज उ यहाँ यसरी उपस्थित छ- जड, मौन र स्थिर ! क्रमशः आफू यो समयसम्म बाँचेको, जीवनको शाश्वत चिन्तन आफुभित्र हराउँदै गएको उसले ठान्यो । उ कुनै गह्रुँगो बोझबाट थिचिएको र निरन्तर अँध्यारोबाट अँध्यारोतिर दौडिरहेको दुःस्वप्न लगातार भ्रान्तिमय रेखाहरूमा चल्मलाउन थाल्यो !
घटना यसरी घट्यो –
अकस्मात आफ्नो शरीर मेसिन हुँदै गएको उसले बुझ्यो ।
त्यो दिन अन्तिम दिन थियो । बिस्तारै मेसिन हुँदै गएको आफ्नो शरीर उसले छाम्यो । टाढा-टाढासम्म ठडिएका पर्खालहरूभित्र अब उ साँघुरिंदै गयो । संसारका ठुला-ठुला गेटहरू बन्द भयो । उ क्रमशः कारखानाभित्र पस्दै गयो । जीवनका सबै ढोका बन्द भयो । भित्र कारखानामा भने अनवरत मेसिन चलिरह्यो, मेसिनहरू चलिरह्यो ।
प्रतिक्रिया