कर्मचारी

कर्मचारी


✍ दिल पौडेल

महामहिमज्यू
भारुण्ड पंक्षीको टाउको जस्तो
बहुरूपिया बुट्टेदार कर्मचारी जगत्
पर्दाभित्रका कालाकर्तुतका
घिनलाग्दा काण्डहरूले गर्दा
यतिबेला, महासंकटको बीचबाट गुज्रेको छ,
दुष्टात्महरूको ड्यामेज गिदी बढार्न सकिँदैन
छलकपट, षड्यन्त्र, चाचाचुचे नचाहने
लिच्चड गफ नहाँक्ने
सोझा, इमान्दार र पहुँचविहीन
कर्मचारीका सेता पोशाक सत्र ठाउँमा उध्रेको छ
महामहिमज्यु !

०००

कठालोमा समातेर
कठघरामा उभ्याउन
लायकका दोषी अपराधीहरूका
कुकृत्य फाईलभित्रै थन्किएका छन्
मेधावी, सुशील र देशभक्तको बदलामा
सेतोलाई कालो र कालोलाइ सेतो पार्ने
चण्डाल, चाटुकार र कुलङ्गारका
भविष्य सुध्रेको छ
महामहिमज्यु !

०००

अर्काको पाउमा आफ्नो पुर्पुरो टेकाउनेसँग
आदर्श आचरणको के कुरा गर्नु ?
मलाइ बडो नमज्जा लागेको छ
सफेद लवेदाका घनटाउकेहरू
सम्पत्ति र दम्पत्ति जोड्दै देख्दा
स्थायी सत्ता कसरी थिग्रेको छ ?
महामहिमज्यु !

०००

परजीवी मुसे दासहरूले
महान् उथलपुथल गरेँ भन्छन्
घाम झैँ छर्लङ्ग छ-
कमिला र मौरीमा भिन्नता नदेख्ने
पुर्वजहरूका सग्लो देश नथेग्ने
राष्ट्रद्रोहीरूरुले सत्यमेव जयेतको आरती बालेर
राष्ट्रकै जीवनमा विषाक्त विचार लेग्रेको छ
महामहिमज्यु !

०००

हाकिम-नेताका गुलामी जारी छ
ऐन-कानुन भट्टीभित्र थन्क्याएपछि
देशको सार्वभौमसत्ता र स्वतन्त्रता निख्रेको छ
महामहिमज्यु !

०००

मलाई भन्न त मन छैन
तैपनि, आमालाई बेच्न सकिँदैन
करौडौं जीवनका पीडाको चित्कार नसुन्ने
उच्चपदस्थ शासकका कन्चेटमै
ट्रिगर दबाउने साधन बिग्रेको र’छ
कर्मचारी जगत् महासङ्कटले गुज्रेको छ !!

  • सिन्धुली