हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’

हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’


हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छन् । हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’को उपाधि हात पार्न बुढा सफल भएकी हुन् ।

हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा बुढाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी हुन् । यो कीर्तिमानीले बुढालाई शीर्षस्थानमा पुऱ्याएको हो । हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा बुढाको लगातार पाँचौँ जितसहित उनबाट नयाँ कीर्तिमानी कायम भएको छ ।

पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हात पारेका थिए । कुलुङले निर्धारित दूरी १४ घण्टा ४७ मिनेट २६ सेकेन्डमा पूरा गरी तेस्रो स्थान प्राप्त गरे । फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेन्डमा तोकिएको दूरी पार गरी प्रथम हुँदा स्विट्जरल्यान्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान हासिल गरेका थिए ।

सो प्रतिस्पर्धामा हङकङकै चेउङ मन यीले १४ घण्टा ५९ मिनेट २ सेकेन्ड र एन्जी यानले १६ घण्टा २५ मिनेट ३१ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । दौडका क्रममा भने आफूले बाटो बिराउँदा हतासिनु परेको बुढाले खुलासा गरेकी राससले जनाएको छ । प्रतिस्पर्धामा भएको दुःख सुनाउँदै सुनमायाले भनेकी छन्, ‘म र अर्जुन हामी दुवैले एक नम्बर चेक पोइन्टबाट बाटो बिराएका थियौँ । रातिको समय अनि द्विविधायुक्त चिह्नका कारण हामीलगायत धेरै प्रतियोगीले बाटो बिराएका थिए ।’

आफूले पहिलो पटक रात्रिकालीन समयको बाटोमा दौड्नु परेकाले आठ किलोमिटर बाटो बिराएको उनको भनाइ छ । यसबारे प्रष्ट्याउँदै बुढाले भनेकी छन्, ‘दौड सुरुपश्चात् करिब १२/१३ किलोमिटर दूरीको उकालो पार गरेपछि चेक पोइन्ट १ मा पुगिन्थ्यो । पुगेपछि त्यहाँ दुईवटा चिह्न राखिएको थियो । अब कुन बाटो जाने भन्ने दोधारमा परियो । दौडका क्रममा केही प्रतिस्पर्धी त्यही बाटो लागेकाले हामी पनि पनि उतै लाग्यौँ ।’

बाटो बिराउँदा हरेस खाएकी उनले एक चिनियाँ पुरुष प्रतिस्पर्धीको सहयोगमा पुनः एक नम्बर चेक पोइन्टमा फर्केर तोकिएको ट्रेल रेसको यात्रामा लागिएको जानकारी दिइन् । हारे पनि दौड्न छोड्नु हुन्न भनेर रेसमा जोडिएकी बुढाले लगातार ७५ किलोमिटर दूरी पार गरेपछि चेक पोइन्ट ७ मा निकटतम प्रतिस्पर्धीलाई भेटाएको जनाइन् । प्रतिस्पर्धीलाई भेट्दा आँट बढेर त्यहीँबाट उछिन्न सफल भएको बताउँदै पछाडि नफर्केरै जित हात पारेको उनले बताइन् । बुढाले द नर्थ फेस टिम एपिएबाट प्रतियोगितामा भाग लिएकी थिइन् ।

  • तस्बिर : रासस