भारतसँग १० विकेटले पराजित भएपछि यू-१९ एसिया कप प्रतियोगिताबाट बाहिरियो नेपाल

भारतसँग १० विकेटले पराजित भएपछि यू-१९ एसिया कप प्रतियोगिताबाट बाहिरियो नेपाल


यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा जारी समुह ए अन्तर्गतको अन्तिम खेलमा मंगलबार नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको भारतले ८.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल केवल २२.१ ओभरमा अल आउट हुँदै ५२ रन मात्र बनाएको थियो ।

यो यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन मात्र बनाएको थियो ।

भारतविरुद्ध यस खेलमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । राजले ९.१ ओभर बलिङ गर्दै तीन मेडनसहित १३ रन दिएर ७ विकेट लिएका थिए । त्यसैगरी आरध्य शुक्लाले २ र अर्सिन कुलकर्णीले एक विकेट लिए ।

योसँगै नेपालले लगातार तीन खेलमा हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पाकिस्तानसँग ७ विकेटले र अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

त्यसैगरी भारतले ३ खेलमा २ खेलमा जितेर ४ अंक हासिल गरेको छ र सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । अब समुह ए बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो अहिले नै जारी रहेको पाकिस्तान र अफगानिस्तानबीचको खेलपछि लाग्ने छ ।