‘सेटिङ’मा दैनिक दुई करोडसम्म लुट्दै अध्यागमन

‘सेटिङ’मा दैनिक दुई करोडसम्म लुट्दै अध्यागमन


दैनिक २ सयदेखि ५ सय जनासम्म ‘सेटिङ’मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर विदेश उड्ने गरेका छन् । सेटिङमा लिएको रकम र विदेश उड्ने युवायुवतिको सङ्ख्या हेर्दा अध्यागमनका कर्मचारीले दैनिक कम्तिमा एकदेखि तीन करोड रूपैयाँसम्म उठाउने गरेको पाइन्छ ।
  • सुरेन्द्र सुवेदी

म्यानमारमा पशुजन्य मानव बेचबिखनले भयावह रूप लिइरहेको समयमा रुसमा नेपाली युवाको तस्करी गरेर लाखौं रूपैयाँ कमाएका मानव तस्करमध्ये १२ जना केही दिनअघि पक्राउ परे । युक्रेन-रुस युद्धमा रुसको सेनातर्फबाट कम्तिमा ६ जना नेपाली युवाको मृत्यु भइसकेको छ । तर युद्धमैदानबाट भागेर ज्यान बचाउँदै नेपाल फर्कनसफल रामचन्द्र श्रेष्ठका अनुसार ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या दर्जनौँ रहेको छ । रुस र युक्रेनका सैन्यसेवामा अझै केही युवा रहेको आशङ्कामा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै युद्धग्रस्त देश नजान र नपठाउन आग्रह गरिसको छ ।

युद्धग्रस्त देशमा कसरी पुगे त नेपाली युवा ? यो र यस्ता प्रश्नको जवाफ खोज्नेक्रममा सरकारी कर्मचारीकै मिलेमतोमा मानवतस्करी भइरहेको खुलासा भएको छ । घटना र विचारले गरेको एक अध्ययनअनुसार अध्यागमन विभागले सेटिङमा ठूलो रकम लिएर नेपाली युवायुवतिलाई ‘भिजिट भिसा’को बहानामा महिला भए प्रतिव्यक्ति ३५ हजार र पुरुष भए प्रतिव्यक्ति ७० हजार रूपैयाँ लिएर विदेश पठाउने गरेको छ ।

दैनिक २ सयदेखि ५ सय जनासम्म यस्तो ‘सेटिङ’मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर विदेश उड्ने गरेका छन् । सेटिङमा लिएको रकम र विदेश उड्ने युवायुवतिको सङ्ख्या हेर्दा अध्यागमनका कर्मचारीले दैनिक कम्तिमा एकदेखि तीन करोड रूपैयाँसम्म उठाउने गरेको पाइन्छ । युवायुवति सङ्कलन गरेर सेटिङमा काम गर्दै आएका एक ट्राभल एजेन्सीका सञ्चालकका अनुसार अध्यागमनका कर्मचारीले सरदर दैनिक २ करोड रूपैयाँसम्म बुझ्दै आएका छन् ।

नेपाल सरकारले कतार, दुवई, कुवेतजस्ता देशमा घरेलु कामदारको रूपमा जान अनुमति दिँदैन । ती र त्यस्ता देशमा जान ‘भिजिट भिसा’को घुमाउरो बाटो अपनाउने गरिन्छ । भिजिट भिसामा जानका लागि बाधक अध्यागमन विभाग बन्छ । र, अध्यागमनका कर्मचारीलाई रकम खुवाउने सेटिङ मिलाएपछि भिजिट भिसामा जान सहज हुन्छ । जसकारण अध्यागमनका कर्मचारीले भारीमात्रामा रकम असुल्ने गरेको अर्का एक ट्राभल सञ्चालक बताउँछन् ।

भिजिट भिसामा खाडी मुलुक पुगेपछि त्यहाँबाट युरोपका देशमा जान सकिन्छ । यहाँबाट दुवई पुगेका नेपाली युवायुवति त्यहाँबाट वर्किङ भिसामा पोर्चुगल, क्रोएसिया, साइप्रससम्म जान्छन् । यसरी युरोप र अमेरिकादेखि अन्य देश पस्न दुवईमा दैनिकजसो एक हजार नेपाली युवायुवति लामवद्ध रहेको बुझिन्छ ।

नेपालबाट भारतको बाटो भएर पनि नेपालीहरू खाडी मुलुक अर्थात दुवई पुग्छन् । नेपालको भारतस्थित दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिन्छ र, उक्त पत्रका आधारमा दुवई पुग्ने गरेको पाइन्छ ।

नेपालको एयरपोर्टबाट जाने युवायुवतिलाई भने काठमाडौंको बागबजारमा रहेका प्रेस र कम्युनिकेसनका पसलबाट ‘नो अब्जेक्सन लेटर’ बनाउने गरिेको पाइएको छ । त्यस्तो लेटर बनाएवापत ती बनाउनेहरूले प्रतिव्यक्ति २ देखि ३ हजार रूपैयाँ लिने गरेका छन् । सेटिङमा जाने भएकोले अध्यागमनका कर्मचारीले नक्कली पत्रलाई सक्कली मान्दै जहाजसम्म पुग्ने बाटो खुला गर्छन् ।

सेटिङमा प्रतिव्यक्ति १ लाख ५० हजार रूपैयाँ लिने गरिन्छ । एयरपोर्ट र त्यसको आसपासमा भएका ट्राभल एजेन्सीहरूले भिजिट भिसामा जाने युवायुवति संकलन गर्छन् । र, उनीहरूसँग १ लाख ५० हजार रूपैयाँ लिएर नक्कली कागजात बनाउन थाल्छन् । युवति भए ३५ र युवा भए ७० हजार रूपैयाँ अध्यागमनका कर्मचारीलाई, ३ हजार रूपैयाँसम्म ‘नो अब्जेक्सन लेटर’ बनाएकालाई र बाँकी रकम ट्राभल एजेन्सी खोलेर मानव तस्करी गर्ने दलालले लिने गरेको २० वर्षदेखि यही पेसामा आवद्ध एक व्यवसायीले घटना र विचारलाई बताए ।

नेपालबाट दैनिकजसो करिव २ हजार युवा वैदेशिक रोजगारीका लागि एयरपोर्टबाट बाहिरिन्छन् । भारतको दिल्लीहुँदै बाहिरिनेको सङ्ख्या यकिन छैन । यसरी बाहिरिनेमध्ये कामदार भिसामा जानेको सङ्ख्या करिव १ हजार ५ सय हुन्छ भने बाँकी सेटिङमा भिजिट भिसामा जाने रहेको एयरपोर्टमा खटिएका एक प्रहरीको भनाइ छ ।