रातको समयमा चोरी गर्ने ६ जना पक्राउ

रातको समयमा चोरी गर्ने ६ जना पक्राउ


रातको समयमा ठाउँ-ठाउँमा चोरी गरेको अभियोगमा ६ जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्दैआएका भारत वैशालीका १८ वर्षीय किशोर, भारत मोतीहारीका १९ वर्षीय किसन गिरी, भारत बिहारका २१ वर्षीय कृष्ण पोदार, काठमाडौं नागार्जुन नगरपालिका-६ सितापाइला बस्ने ३० वर्षीय बिक्रम गर्तौला, झापा वाहुनडाँगी नगपरालिका-८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका-९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा रहेका छन् । उनीहरूमध्ये बिक्रम, रमेश र डिल्लीराम सुन पसले रहेका छन् ।

गत असार १५ गते काठमाडौं शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते काठमाडौं विजयचोस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट गरी जम्मा १३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट सुनको पोतेसहित नौगेडी ३ थान, सुनको मंगलसुत्र ३ थान, सुनको रिङ ३ थान, सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद भएको छ ।

अवैध सुनसहित एक जना पक्राउ

अवैध रूपमा भन्सार छली लैजान लागेको सुन १ सय ७० ग्रामसहित भारतीय नगरिक ५० वर्षीय जितेन्द्र मुलचन्द वावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेवियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ ।

उनलाई आवश्यनक अनुसन्धान एवं कारबाहीको लागित्रिभुवन विमानस्थल भन्सार कार्यालयगौचरमा बुझाइएको छ ।