अलैंची किलोको १ हजार ८ सय पुग्यो : ११ अर्ब आयको प्रक्षेपण

अलैंची किलोको १ हजार ८ सय पुग्यो : ११ अर्ब आयको प्रक्षेपण


  • सुरेन्द्र सुवेदी, काठमाडौं

‘कालो सुन’ उपमा लिइने अलैंचीको मूल्य बढिरहेको छ । विगत वर्षको तुलनामा यो वर्ष मूल्य अधिक बढेर एक किलोग्रामको १ हजार ८ सय रुपैयाँ पुगेको हो । एक मन (४० किलोग्राम) को ७२ हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ । यस हिसाबमा प्रत्येक वर्ष अलैचीबाट देशमा करिव ११ अर्ब रुपैयाँ देश भित्रने गर्छ । केही समयअघि यसको मूल्य प्रतिकिलो ७ सय रुपैयाँ थियो । केही वर्षअघि त अलैचीको मूल्य मनको १५ हजार रुपैयाँ पनि थिएन ।

नेपालका १६ जिल्लामा अलैची उत्पादन हुन्छ । जम्मा उत्पादन ६० लाख किलो हुन्छ । अलैची पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा, इलाम र पाँचथरमा अधिक उत्पादन हुन्छ ।

नेपाल अलैची व्यवसायी महासंघका पूर्व अध्यक्ष राजकुमार कार्कीका अनुसार देशमा १ लाख कृषक अलैची खेतीमा आवद्ध छन् । अहिले कृषकहरु बाझो खेत, बारी र अन्य बाली उत्पादन हुने जग्गामा पनि अलैची रोप्न थालेका छन् ।

अहिले मूल्य वृद्धि हुनुको कारण उत्पादन घटेको पूर्व अध्यक्ष कार्कीले बताए । उनका अनुसार यहाँ उत्पादन भएको अलैची ९५ प्रतिशत भारत निकासी हुन्छ । बाँकी बंगलादेश हुँदै तेश्रो मुलुक पुग्ने गरेको छ । अलैची बढीमात्रामा मसला बनाउन प्रयोग हुन्छ । त्यसपछि आयुर्वेदिक औषधि, अत्तरजस्ता चिज बनाउन प्रयोग हुँदैआएको छ ।

बजार राम्रो भएपछि हाल उत्पादन भइरहेका १६ जिल्लाबाहेकका कृषक पनि अलैची रोप्न थालेका छन् । अहिले जाजरकोट, रोल्पासमेतका जिल्लाका कृषक पूर्वबाट बिरुवा लगेर रोप्दै आएका छन् । पहाडी क्षेत्र र चिस्यान भएको स्थानमा अलैंची खेती हुन्छ ।