माधव बरालको ‘भूमि चिन्तन’ सर्सर्ति नियालेपछि…

माधव बरालको ‘भूमि चिन्तन’ सर्सर्ति नियालेपछि…


पुस्तक परिचय
– प्रा.डा. यादव शर्मा गौडेल

समस्त प्राणी जगतकी जननी, प्रकृतिकी धरोहर ‘भूमि’ मानवकल्याणका निम्ति प्रकृतिप्रदत्त निःशुल्क उपहार हुन् । यिनको आपूर्ति निश्चित छ, यिनको सदुपयोग गरे मानवीय कल्याण हुन्छ, दुरूपयोग गरे विपद् र विनास अवश्यम्भावी छ भन्ने भावनाका साथ माधवप्रसाद बरालद्वारा लिखित १८० पृष्ठ लामो ‘भूमि चिन्तन’ नामक पुस्तक सरसर्ति अध्ययन गर्ने मौका पाएँ ! यस पुस्तकमा प्राक्कथन एवम् विभिन्न २४ वटा शीर्षकमा बहसमूलक प्रस्तुतिलगायत ९ वटा विचारकहरूको मूल्यांकनलाई समावेश गरिएको छ !

भूमिप्रति बढ्दै गएको मानवीय अतिक्रमण र अव्यवस्थाले नेपालका सबै राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा पारेको दुष्प्रभावको विश्लेषण गर्दै, तथ्यगत सामाग्रीको उचित प्रयोग गरी, ऐतिहासिक प्रमाण जुटाइ आकर्षक ढङ्गले विभिन्न जिज्ञासा राखी जमीनलाई सरकारी स्तरबाट योजना बनाइ वैज्ञानिक भूउपयोग नीति लागू गर्न जोड दिँदै प्रस्तुत गरेका विचार एवम् भूमि सम्बन्धित सवाल (issues)हरू सान्दर्भिक र खोजपूर्ण छन् ।

नेपालमा कृषि भूमिको पूस्तान्तरण एवम् व्यापारिक प्रयोजनका लागि गरिने खण्डिकरणले उत्पादनयोग्य जÞमीनको ह्रास भइ अन्ततोगत्वा खाद्यसंकट उत्पन्न हने परिस्थिति देखिन्छ ।

साथै सरकारी स्वामित्वमा रहेको जग्गा समेत अपचलन भइ व्यक्तिगत नामसारी गर्ने, लालपूर्जा प्राप्त गर्ने, नीतिगत भ्रष्टाचार गर्ने जस्तो परिदृश्यले भूस्वामित्व परिवर्तन भन्दा वैज्ञानिक भूउपयोग नीति अवलम्बन गरी उत्पादन र उत्पादकत्व बढाउने सबै कृषियोग्य जमीनको सरकारबाट संरक्षणका लागि प्लटिङ गर्ने प्रचलनलाई निस्तेज गर्ने, स्थानीय स्रोत र कृषिमा आधारित उद्योग सञ्चालन गर्ने, स्वदेशमै रोजगारका अवसर सृजना गरी यूवा पलायन हुनबाट रोक्ने सक्षम र सुशासनयुक्त सरकारको खाँचो सर्वत्र हुन थालेको छ !

अतः निचोड़मा भन्नुपर्दा राज्यको स्वामित्वमा हालसम्म वैज्ञानिक भूउपयोग नीति कार्यान्वयनमा नआएकाले भूमिको बहुआयामिक उपयोग गरी कृषि, पशुपालन, कृषिमा आधारित उद्योग धन्दा, पर्यटन व्यवसाय कुन-कुन ठाउँमा सुरूवात गर्ने, कस्तो ठाउँमा बस्ती बसाउने भन्ने भूउपयोग नीतिमार्फत स्पष्ट किटान गरी कार्यान्वयनमा ल्याउन जरुरी छ ।

अन्त्यमा, भूमिको स्वामित्व र उपयोगमा पुनर्विचारको बहसका साथ पुस्तक लेखनमा माधवजीले गर्नुभएको मेहनत र परिश्रमप्रति पङ्क्तिकारको हार्दिक साधुवाद छ ।

  • पोखरा