खर्बौंको सम्पत्ति मालीलाई !

खर्बौंको सम्पत्ति मालीलाई !


विश्वप्रशिद्ध कम्पनी अर्मिस (HERMES) का मालिकले आफ्नो खर्बौंको सम्पत्ति आफ्नै बगैँचाको हेरचाह गर्ने मालीलाई हस्तान्तरण गरिदिएका छन् । कम्पनीका मालिक निकोलस प्युचले हालै उक्त घोषणा गरेका हुन् । उनले एघार अर्ब डलरबराबरको सम्पत्ति आफ्नो मालीको नाममा गरिदिएपछि अहिले विश्वभर उनको चर्चा चुलिएको छ ।

लक्जरी सामान कम्पनी हर्मिसका मालिक प्युचले आफ्नो ५१ वर्षीय मालीलाई धर्मपुत्र बनाउने योजना बनाएका एजेन्सीहरूले जनाएका छन् । ८० वर्षीय निकोलस प्युच ‘अर्मेस’का मूल संस्थापक थियरी हर्मेसका नाति हुन् । अविवाहित प्युचले सन् २०१४ मा हर्मेसको सञ्चालक समितिबाट राजीनामा दिएका थिए । यद्यपि, कम्पनीमा उनको अझै ६ प्रतिशत सेयर छ । उनले आफ्नो सम्पत्ति मालीलाई हस्तान्तरण गर्ने तयारी सुरु गरेको बताइएको छ । प्युचले यो काम पूरा गर्न कानुनी सल्लाहकारको सहयोग लिइरहेका छन् । किनकि, फ्रान्समा वृद्ध व्यक्तिले सम्पत्तिको उत्तराधिकारी घोषणा गर्ने प्रक्रिया निकै जटिल छ ।

बताइएअनुसार ५१ वर्षीय मालीले स्पेनी महिलासँग विवाह गरेका छन् र, उनका दुई सन्तान पनि छन् । उनको नाम भने सार्वजनिक गरिएको छैन । प्युचले आफ्नो मालीलाई अन्य धेरै विलासी बस्तुहरू पनि उपहार दिएका छन् भने मोरक्कोमा रहेको विशाल सम्पत्ति र स्विट्जरल्याण्डको मोन्ट्रोमा रहेको एउटा भिल्लाचाहिँ कुनै ट्रष्टलाई हस्तान्तरण गरिसकेका छन् । उक्त सम्पत्तिहरूको कुल मूल्य ५९ लाख डलर रहेको बताइन्छ ।