शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन प्रक्रियामा

शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन प्रक्रियामा


कोशी प्रदेशमा शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था गरेको हो ।

न्याम्सको उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. अनिलविक्रम कार्की, मुटु रोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइराला, काउन्सिलका सहकोषाध्यक्ष डा. विक्रान्त ढकाललगायतका टोलीले उक्त हृदय रोग केन्द्र सञ्चालनका लागि बुधबारबाट अध्ययन थालेका छन् । उनीहरुले कुन मोडेलमा, कसरी, कति क्षमतामा र के के सेवाबाट हृदय केन्द्र सञ्चालन गर्नेबारे अध्ययन थालेका हुन् ।

कोरोना महामारीकालमा प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालन गरेको उक्त अस्पतालको भवन, उपकरण, जनशक्ती, ऐन, नियम, निर्देशिकालगायतको बारेमा अध्ययन सुरु गरेको डा. कोइरालाले बताए ।

उक्त संक्रामक रोग तथा सघन उपचार केन्द्रमा नेगेटिभ प्रेसरसहितको २४ वटा आईसीयू, २० वटा आईसीयू, ४७ वटा एचडीयू र ८१ वटा सामान्य शैय्या, इसिजी, एक्सरे सेवा, एक सय ५० सिलिण्डरको दुई वटा अक्शिजन प्लाण्ट, वेष्ट म्यानेजमेण्ट रहेको छ । उक्त केन्द्रमा अहिले ओपिडी सेवा सञ्चालनमा रहेको केन्द्रका प्रशासन प्रमुख अनुपम राजबंशीले बताएका छन् । उक्त केन्द्रसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नेपालमा उपलब्ध सबै प्रयोगशाला सेवा उपलब्ध रहेको छ ।

हृदय रोग विशेषज्ञ प्राडा कोइरालाले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रहेको जग्गा, भौतिक संरचना, उपकरण, जनस्वास्थ्य प्रयोगशालाले हृदय रोग केन्द्रमात्रै नै नभई अन्य धेरै सेवा सञ्चालन गर्ने अवस्था रहेको तर हामीले अहिले कहाँ र के के सेवाबाट हृदय रोग केन्द्र सञ्चालन गर्ने बारे अध्ययन थालेको बताएका हुन् ।