जितेकी हुँ हारबाट

जितेकी हुँ हारबाट


✍ देवकी तिमल्सिना

जिन्दगीको मैदानमा
पटक-पटक हारेर
आफैं समाचार बन्दै, र
समाचार बनाउँदै
सपनाहरूको उडान भर्दै
स्वाभिमानको लागि
यहाँसम्म आइपुगेको
अथक योद्धा हुँ !
त्यसैले मैले
हारबाटै जित्न सिकेको हुँ
जितबाटै जिउन जानेको हुँ
भलै रहरहरूले गिज्याउलान्
भोकशास्त्रले जिस्काउला
सपनाहरू पोको पर्लान्
जिन्दगीले लय बिर्सेला
छोराछोरीले आशा मार्लान्
मलाई हेरेर बाँच्नेहरू- निराश होलान्
तर म ती मान्छेहरूलाई हेरेर
सतिसाल बन्नेछु
जो आकासमुनि
धर्तीको एक छेउमा-
आड लिएर बाँचेका छन्
अँध्यारैअँध्यारो सहेर पनि
उज्यालो आउँछ भन्नेमा ढुक्क छन् ।