म पनि मान्छे हुँ

म पनि मान्छे हुँ


✍ रेणुका भट्टराई

स्तब्ध जीवनको
मौनतालाई चिरेर
कालो बादलभित्रको
चाँदीको घेरा नियाल्दै
निष्पट्ट औंसीको अँध्यारोबाट
जीवन खोज्दैछु
कालो बादल मडारिँदा
असिनापानीले चुटेर निथ्रुक्क भिजेको
गुलावको पत्रमा जीवनको बिम्ब देख्दैछु
पानी परेपछिको आकाश नियाल्दै
बाँच्न खोजिरहेछु ।
मलाई मान्छेजस्तै बाँच्न देऊ
मलाई मान्छेजस्तै हाँस्न देऊ
शारदी जूनको शितलता मागेर
चहऱ्याइरहेको मनको घाउमा
मलमपट्टी लगाउँदै छु
शारदी किरणसँग
जीवन मागिरहेछु
मलाई जीवनको अस्तित्व बुझ्न देऊ
सपनाको सगरमाथा चुम्न देऊ
मानवताको पुजारी बन्दै
विश्व चहार्न चाहन्छु
मलाई सपनाको बायुपङ्खी घोडा देऊ
हे समय
नदेऊ, एक्लोपनको निराशता
अपमान, कमजोरीको दृष्टि
मलाई शान्तिको अनमोल चक्षु देऊ
म संसार नियाल्न चहान्छु
हरेको हृदयभित्रको धड्कन बनेर
धड्कन चाहन्छु
म मरेर पनि बाँच्न चाहन्छु
त्यसैले
म पनि मान्छे हुँ
मलाई मान्छे भएर
अस्तित्वमा बाँच्न देऊ
मलाई पनि हाँस्न देऊ ।