अब पालो आँखी झ्यालको !?

अब पालो आँखी झ्यालको !?


✍ मोहन लामा रुम्बा

उपत्यकाको विशिस्ट काष्ठकला कौशल घरको ढोका मात्रै होइन काष्ठकलाको उत्तम नमूनाको रूपमा रहेकोे घरको झ्याल पनि हो । काठमाडौंको यट्खा टोलमा रहेकोे एक घरको झ्याललाई नेपाल सरकारले जारी गरेको मेसिन रिडेबल पासपोर्टभित्र मुलुक चिनाउने १७ वटा प्रतीकात्मक तस्बिरमध्ये ‘देशे मरु झ्या’ अर्थात् देशमा अन्त कतै नभएको झ्याललाई पनि राखेको छ ।

संस्कृतिविद् सत्यमोहन जोशी यो मल्लकालिन झ्याल हुनसक्छ भनेर भन्नुहुन्थ्यो । भित्रबाट बाहिर छर्लङ्ग देख्ने बाहिरबाट भित्र नदेख्ने यस्तो कलात्मक झ्याल नेपाल (उपत्यका) भित्र कतै-कसैको नभएकोले त्यतिबेला सबैले ‘देशय् मरू झ्या’ भनेर भन्दै जान थालेपछि यसैको नामले चर्चित हुन पुग्यो ।

उतिबेला आजको जस्तो ढोका र झ्यालमा पर्दा हाल्ने चलन नभएको बेला यो झ्यालले पर्दाको पनि काम गर्थ्यो, हावाको बहाव सन्तुलित बनाउथ्यो त्यसैले उपत्यकाको मन्दिरदेखि घरमा पनि आँखी झ्याल बनाउने गरेको पाइन्छ ।

अब कुन दिन अर्को एउटा पुस्तक आउने छ र भन्नेछ- आँखी झ्याल पनि राजा-महाराजाबाट चेलीबेटी जोगाउन नयाँ झ्याल आविष्कार गरेको थियो !

उपत्यकाको सुन्दर विशिष्ट कला/कौशलको गौरवमय नेवाः इतिहासलाई विद्रुप पार्न त्यसको महत्त्व र गरिमालाई ओझेलमा पार्न घुमाउरो रूपमा इतिहासलाई बंग्याएर नयाँ-नयाँ भाष्य तयार गरेर उपत्यकाको नयाँ पुस्तालाई आफ्नो पुर्खाको परम्परा चालचलन कला कौशल सम्पदाप्रति महत्त्व घटाउन यस्तो नियोजित रूपमा प्रपन्च गर्दै आइरहेको छ ।

यस्ता फिरंगीहरूको तलबभत्ता खाइ इतिहासलाई तोडमोड गरेर जिविका चलाउने तथाकथित लेखक बुद्धिजीवी साहित्यकरहरूको कुत्सित मनसुवा त हामीजस्तो सर्वसाधारण बाहिरी मान्छेले ठम्याउन सक्छौँ तर उपत्यकाभित्रको नेवाः संस्कृति र सम्पदाको संरक्षक हामी हौँ भन्दै धिमे बाजा बजाउँदै हिँड्ने नेवाः अभियन्ताहरू यस्तो चलाखीपुर्ण घुमाउरो षड्यन्त्रबारेमा कत्तिको जानकार होलान् ?