गोरखा भूकम्प र पुनर्निर्माणको कसीमा ई. वस्ती !

गोरखा भूकम्प र पुनर्निर्माणको कसीमा ई. वस्ती !


पुस्तक-चर्चा

सुपरिचित साहित्य स्रष्टा ई. गणेशराज वस्तीको नयाँ कृति ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ प्रकाशनमा आएको छ । ‘गोरखा भूकम्प’ भनेर समेत चिनिने वि.सं. २०७२ वैशाख १२ मा गएको मध्यनेपालको विनासकारी भूकम्प जाँदादेखि पुनर्निर्माणसम्मका सम्पूर्ण दृश्यलाई सारमा खिच्ने हुटहुटीबाट अभिप्रेरित भइ लेखकले यो पुस्तक लेखेका हुन; दुई सय पचास पृष्ठको पुस्तक ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ अध्ययन गरिसक्दा सारमा यस्तै लाग्छ ।

प्राविधिक (इन्जिनियरिङ) सिप लगाएर भौतिक संरचनाको निर्माणमा विषयविज्ञता हासिल गरेका र पेशागत रूपले नेपाल सरकारको ‘प्रदेश सचिव’ (उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश) ओहदामा पसिना बगाइरहेका ई. गणेशराज वस्ती साहित्य सर्जकको रूपमा पनि उत्तिकै परिचित व्यक्तित्व हुन् । खासगरी कविता, गीत र यात्रा-साहित्यमा उनको लगाव देखिन्छ, तथापि साहित्येतर कृति पनि ई. वस्तीका बग्रेल्ती नै प्रकाशित छन् । पछिल्लो चरणमा गीतकारको रूपमा समेत सशक्त ढङ्गले उदाएका उनका फुटकर साहित्य-रचनाहरू विभिन्न पत्रपत्रिकामा सयौँको सङ्ख्यामा प्रकाशित भएका छन् भने हालसम्म प्रकाशित एक दर्जन पुस्तक-कृतिमध्ये ई. वस्तीको यो बाह्रौँ कृति हो, जसमा पुस्तकको नामलाई सार्थक तुल्याउँदै बहत्तर सालको विनाशकारी भूकम्पको परिवेशका चित्रहरू शब्दमा उतारिएको छ । ‘कम्प, भूकम्प र पराकम्प’बाट शुरु भइ ‘अगाडिका दिन’ सम्मका एकतिस वटा अलग-अलग उपशीर्षकमा समेटिएका गोरखा भूकम्पसम्बन्धित विषय-बस्तुको चित्रणका आधारमा भन्नुपर्दा पक्कै पनि यस पुस्तकका पाठकहरूमा इमानदार भएर देश निर्माणमा आतुरता देखाउने, त्यस्ता काममा प्रेरित हुने, जोशजाँगर निकाल्ने ओजगुण जाग्ने विश्वास गर्न सकिन्छ ।

भूकम्पपछिको पुनर्निर्माणमा सम्वद्ध विभिन्न निकायमा रही पुनर्निर्माण कार्यमा सरिक रहने अवसर पाएका ई. वस्तीले प्राविधिक विषयबस्तुलाई पनि अत्यन्त सरल-साहित्यको रङ्ग दिएर रसिलो ढङ्गमा भूकम्प र त्यसपछिका यावत परिवेशलाई पस्किदिएका छन् । एक कर्तव्यनिष्ठ सरकारी कर्मचारीको रूपमा विभिन्न कालखण्ड या सन्दर्भविशेषमा स्वयम्ले भोगेका, देखे-बुझेका र अनुभूत गरेका घटना-सन्दर्भहरूलाई पनि साहित्यको लेप लगाएर लेखकले प्रस्तुत गरिदिएका छन् । लेखककै शब्दमा भन्नुपर्दा, लेख्दा न कुस्ती खेल्न खोजिएको छ न त स्तुति गान नै ! सिधा हेर्दा जे देखिएको छ त्यही लेखिएको छ । यथार्थपरक भएर विसङ्गति र बेथितिलाई चिन्ने, टिप्ने र चिरफार गर्ने जमर्को गरिएको छ । सुनौलो भविष्यको पदमार्ग कोर्न लालायित मनोभावको प्रकटीकरण गर्ने प्रयास पनि यस पुस्तकभित्र देख्न सकिन्छ ।

गोरखा भूकम्पबाट भएको विनास र तत्पश्चात् सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका उद्धार तथा राहत र पुनः निर्माणका प्रयासहरूलाई समेट्दै केही पुस्तकहरू प्रकाशन नभएका होइनन् । तर, गणेशराज वस्तीको यो पुस्तक अलग उचाइ र महत्वको छ । यस पुस्तकले भावी पुस्तालाई बहत्तर सालको विनासकारी भूकम्प र त्यसपछिको पुनर्निर्माणका गतिविधि र उपलब्धि आदिका बारेमा निकै हदसम्म सत्यतथ्य जानकारी त गराउने नै छ, साथसाथै विद्यालय/विश्वविद्यालयका विद्यार्थी, शिक्षार्थी, शोधार्थी र अन्य सरोकारवाला सबैका लागि समेत आ-आफ्ना अध्ययन, अनुसन्धान, अन्वेषण आदिका क्रममा पुस्तकले महत्वपूर्ण सहयोगीको भूमिका निर्वाह गर्नेमा शङ्का गरिरहनै पर्दैन ।

सरल र सादगी स्वभावका ई. गणेशराज वस्ती आफूले पाएका अनेक अवसरहरूलाई तिलाञ्जली दिँदै स्वदेशकै लागि केही गरौँ भनी मरिमेट्ने देशप्रेमी राष्ट्रसेवक पनि हुन् भनी पाठक वर्गलाई जानकारी गराउनु यहाँनेर सान्दर्भिक नै हुनेछ । पेशागत कर्मका साथै वैयक्तिक विभिन्न अवसरको सदुपयोग गर्दै मुलुकका सतहत्तर वटै जिल्ला र अमेरिका, जापान, बेलायत, चीन, फ्रान्सलगायत दर्जन सङ्ख्यामा विदेशको समेत भ्रमण गरेर विभिन्न अनुभव, अनुभूति र ज्ञान बटुलेका लेखक/साहित्यकर्मी गणेशराज वस्ती एक अब्बल प्राज्ञिक व्यक्तित्व पनि हुन् । एक विज्ञ प्राविधिक भएर पनि संवेदनशील साहित्य-स्रष्टाको पहिचान स्थापित गरेका ई. वस्तीबाट भविष्यमा अझै महत्वपूर्ण र थप गहकिला कृति सिर्जित हुँदै जाने अपेक्षा र विश्वास गर्न सकिन्छ ।

  • सन्देश शर्मा