मेरो भोको पेट !

मेरो भोको पेट !


✍ रूपा पौडेल ‘शाम्भवी’

खाएको खायै छु
भरेको भऱ्यै छु
तैपनि कहिल्यै भरिँदैन
मेरो भोको पेट !
सत्तामा बसेर खान्छु
कुर्सीमा बसेर खान्छु
मौका मिल्यो कि
यताउता पल्याकपुलुक
हेरेर खाइहाल्छु,
खाएको खायै छु
भरेको भऱ्यै छु
खै.. कहिल्यै नभरिने
मेरो भोको पेट
अचम्म लाग्छ !
उदेक लाग्छ !!
आफैलाई
आफ्नै पेट देखेर,
ठाउँ-बेठाउँ
बेला-कुबेला
जतिखेर पनि भरेकै छु
पुग्यो कहिल्यै भन्दैन
जति खायो उति भोको
झन्-झन् खााउँ-खाउँ लाग्ने
नखाएसम्म त निद्रै नलाग्ने !
कहिले विमानस्थलतिरबाट मगाउँछु
कहिले प्रशासनतिरबाट
कहिले राजदूतावासतिरबाट मगाउँछु
कहिले व्यापारीतिरबाट
कहिले स्वदेशी खान्छु
कहिले विदेशी !
खाँदा-खाँदा पेट बढेर
भकारी भएछ
सानो खानाले के भरिन्थ्यो ?!
कहिले हेलिकप्टर खान्छु
कहिले प्लेन नै निलिदिन्छु
कहिले निवास खान्छु त कहिले सुन
कहिले डाँडाकाँडा नै निल्छु
कहिले भूमि
कहिले निकुञ्ज
कहिले वन
कहिले खोलै खाइदिन्छु
कहिले पुल त
कहिले न्याय खाइदिन्छु !
हुँदा-हुँदा काण्डैकाण्ड पनि पचाइदिन्छु
रड, सिमेन्ट
बालुवा, गिटी
पाएजति
सबै खाइदिन्छु !
कहिले निवेदन हालेर खान्छु
कहिले भागै खोसेर खान्छु
कहिले मगाएर खान्छु
कहिले जोगाएर खान्छु
खै ! जति खाएपनि
पुग्यो भन्दैन
लोभी पेट
खाएको खायै छु
भरेको भऱ्यै छु
जे आउँछ
मजाले पचाउँछ !
के भरिन्थ्यो
मेरो पापी पेट
मेरो सदावहार भोको पेट !!