पशुपति क्षेत्र विकास कोषमा ‘नियतवश’ गरिँदै क्रिश्चियनको नियुक्ति ?

पशुपति क्षेत्र विकास कोषमा ‘नियतवश’ गरिँदै क्रिश्चियनको नियुक्ति ?


संस्कृतिमन्त्री नै इसाई धर्मको प्रचारमा !

■ सुरेन्द्र सुवेदी, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सो मन्त्रालयअन्तर्गतको निकाय ‘पशुपति क्षेत्र विकास कोष’मा नियतवश क्रिश्चियन धर्मावलम्बीहरूलाई नियुक्ति दिन थालिएको छ । विगतका सरकारले अस्थायी र करारमा राखेका कर्मचारीदेखि राजनीतिक नियुक्तिहरू हटाएर धमाधम क्रिश्चियनलाई भर्ना गरिएको र, यस्तो भर्ना निरन्तर जारी रहेको बुझिएको छ ।

हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको समग्र विकास गर्न २०४४ सालमा पशुपति क्षेत्र विकास कोष ऐन ल्याइएको थियो । ऐनमा प्रष्ट ब्यवस्था नहुँदा मन्त्रालयले मनखुसी पदाधिकारी र कर्मचारी नियुक्त गरिरहेको छ । हालै माओवादी पार्टीका कार्यकर्तासमेत रहेकी सञ्चारकर्मी लक्ष्मी पुन मगरलाई कोषको कार्यकारी निर्देशकमा मन्त्री सुदन किराँतीले नियुक्ति दिएका छन् । सो नियुक्ति विवादमा परेपनि मन्त्री एवम् सरोकारवाला निकायले कुनै वास्ता नगरेको अनुभूति गरिएको छ ।

विश्वसम्पदा सूचीमा सुचिकृत पशुपतिनाथ मन्दिर संसारकै हिन्दुहरूको आस्थाकेन्द्र एवम् ठूलो र ऐतिहासिक मन्दिर हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जो मन्त्री आएपनि यहाँ पदाधिकारी र कर्मचारी नियुक्ति गर्ने चलन हटाउन त्यो ऐन संशोधनको माग कर्मचारीहरू गरिरहन्छन्, तर ऐन संशोधन गर्दा क्रिश्चियनदेखि अन्य धर्म मान्ने आफ्ना ‘कार्यकर्ता’लाई नियुक्त गर्न नपाइने भएकोले मन्त्रीले ऐन संशोधनमा चासो नदिने गरेको कोषका एक कर्मचारीले घटना र विचारलाई बताए ।

क्रिश्चियन धर्मका प्रचारकको रूपमा चिनिन थालेका सुदन किराँतीले आफ्नो एकवर्षे कार्यकालमा कार्यकरी निर्देशक पुन मगरसमेत एक सय पचास जना कर्मचारी नियुक्त गरिसकेका छन् । ‘सुरक्षा गार्डदेखि सरसफाई कर्मचारीसम्म उनले सकेसम्म क्रिश्चियन नै खोजी–खोजी नियुक्ति दिएको पाइन्छ’- कोषका एक उच्च अधिकारीले बताए ।

प्रधानमन्त्री संरक्षक, मन्त्री अध्यक्ष र सात जना कोषको पदाधिकारी रहने व्यवस्था छ । सदस्य-सचिव, कोषाध्यक्ष र पाँच जना सदस्यको राजनीतिक नियुक्ति गरिन्छ भने मन्त्रालयका सचिव, सहसचिवलाई पनि कोषको कार्यसमितिमा पदेन सदस्यको रूपमा राखिन्छ । सदस्य-सचिवदेखि सदस्यसम्म सात जना मन्त्रालयले फाइल उठाएर मन्त्रिपरिषद्ले निर्णय गर्दै नियुक्ति दिन्छ । जसमा क्रिश्चियन मन्त्री भए क्रिश्चियन नै, बौदिष्ट मन्त्री भए बौदिष्ट र हिन्दु मन्त्री भए हिन्दुलाई नै नियुक्ति दिइन्छ ।

मन्त्री किराँतीले कोषमा पनि ठूलो घोटाला गरेको सूचना आइरहेका छन् । एक विशेष पूजा गरेको २५ लाख रुपैयाँसम्म लिने कोषमा त्यस्तो रकम जम्मा नहुने र, रसिद काट्दा पनि दोहोरो अंकको रसिद काटेर रकम हिनामिना भइरहेको कर्मचारीहरूको आरोप छ । आर्यघाटको शुल्क, सटरहरूको भाडा र विदेशी मन्दिर प्रवेश गर्दा तिर्ने प्रतिव्यक्ति एक हजार रुपैयाँको हिसाब प्रायः नराखी हिनामिना भइरहेको छ । पशुपतिमा दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक यहाँ पुरातत्व र धार्मिक आस्थाको अवलोकन गर्न आउने गरेका छन् । जसको हिसाब दैनिक १० लाख रुपैयाँसम्म हुन्छ । तर, कोषको खातामा भने त्यसको एक चौथाइ पनि जम्मा नहुने कर्मचारीहरूको भनाइ छ ।

मन्त्री किराँतीले केही दिनअघि ‘क्रिश्चियन मान्दिन भन्नु संविधान नमान्नु हो र संविधान नमान्ने देशद्रोही हो, देशद्रोहीलाई हतकडी लगाएर जेल कोचिन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यतिमात्र नभइ उनले क्रमशः क्रिश्चियनहरूको वर्चश्व नेपालमा बढिरहेको र सर्पले भ्यागुतो निलेझैँ बिस्तारै अन्यलाई क्रिश्चियनले निल्दै जाने आशयसमेत प्रकट गरेका थिए । क्रिसमसको ‘फेस्टिबल’मा क्रिश्चियन अनुयायीबीच यस्तो अभिव्यक्ति दिएको सार्वजनिक भएपछि मन्त्री किरातीको चौतर्फी आलोचना भइरहेको छ । विभिन्न हिन्दु सनातनी सङ्घ-संस्थाबाट मन्त्री किरातीको राजीनामा मागिएको छ । सबैतिरबाट आक्रोश र असन्तुष्टि अनि राजीनामाको माग भएपछि पनि मन्त्री किरातीले गल्ती महसूस गर्नुको साटो विभिन्न कुतर्क गरेर आफूलाई चोख्याउन खोजिरहेका छन् । मन्त्री हुनुको नाताले आफू सबैको अभिभावक भएको र धार्मिक सहिष्णुता बिगार्न नहुने आफ्नो मनसाय भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफूलाई निर्दोष कहलाउन खोजेका छन् । जानकारहरूका अनुसार उनी पक्का क्रिश्चियन भएकोले हिन्दुलाई दबाउन उनले जस्तोसुकै हतकण्डा अपनाउन सक्छन् ।

पशुपतिनाथ मन्दिरमा हिन्दुबाहेकलाई प्रवेशमा रोक लगाइन्छ । अब कोषमै कर्मचारी क्रिश्चियन भएपछि कामविशेषले पनि उनीहरू मन्दिर प्रवेश नगर्ने अवस्था रहन्न । यसले हिन्दुहरूको आस्थामा गम्भीर चोट पुग्नु स्वभाविक नै हुन आउँछ । यति संवेदनशील मामलामा पनि प्रधानमन्त्री प्रचण्डले मौनता साध्नुलाई दुःखदाश्चर्यको रूपमा लिइएको छ ।

‘राष्ट्रियता’माथि पनि प्रश्न !

मन्त्री किराँतीको जन्म नेपालमा नभएको बुझिएको छ । उनी हङकङमा जन्मिएका हुन् । उनका बुबा हर्कबहादुर बेलायती लाहुरे थिए, त्यसैले उनको जन्म हङकङमा भएको उनको पारिवारिक श्रोत बताउँछ । नेपालमा जन्म नभएका कारण उनलाई नेपालप्रति माया नभएको जानकारहरू खुलेआम बताउँछन् ।

नेकपा एमालेको स्कुलिङबाट आएका उनी २०५८ मा माओवादीका पूर्ण कार्यकर्ता बनेका हुन् । उनको हालको घर भने भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ मा पर्छ । माओवादी जनयुद्धकालमा मन्दिरमा पिशाव फेर्दै हिँड्ने समूहमा उनी पनि सहभागी भएको आरोप लाग्ने गरेको छ ।