मन्दीको असर : पाँच अर्बबढीको दुग्धपदार्थ मौज्दात

मन्दीको असर : पाँच अर्बबढीको दुग्धपदार्थ मौज्दात


आर्थिक मन्दीको असरले दैनिक प्रयोग गरिने दूध, घ्यु, चिज र छुर्पीको किनबेचमा पनि ठूलो असर देखिएको छ । डेरी सञ्चालक, सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका अनुसार दैनिक उत्पादन हुने दूध, घ्यु, चिज र छुर्पीको खपत २५ देखि ३० प्रतिशतमात्र छ । ७० देखि ७५ प्रतिशत गोदाममा थन्किरहेको छ ।

पाँचथरको फिदिममा सिदिन डेरी उद्योग सञ्चालन गर्दै आएका गोपाल रिजालकोमा मात्र ९० लाख रुपैयाँभन्दा बढीको घ्यु गोदाममा थन्किएको छ । पूर्वमा १० लाख किलो बढी घ्यु स्टक रहेको छ भने करिव १० हजार किलो चिजको मौज्दात रहेको डेरी एसोसिएनका पूर्वक्षेत्र सदस्य गोपाल रिजालले घटना र विचारलाई बताए ।

दुग्ध विकास संस्थान (डिडिसी)का महाप्रबन्धक सन्दिव झाका अनुसार डिडिसीसित धुलो दूध ६ लाख १३ हजार किलो र घ्यु ४२ लाख ५० हजार किलो मौज्दात रहेको छ ।

दूध उत्पादक सहकारी संघका कृष्णप्रसाद सापकोटाका अनुसार ९० लाख किलो घ्यु र त्योभन्दा बढी छुर्पी स्टक छ । खपत नभएर नै गोदाममा दुग्धपदार्थ थन्किएको हो । सापकोटाका अनुसार झण्डै ५ अर्ब रुपैयाँबढीको दूधजन्य पदार्थ डेरीहरूमा थन्किएका छन् । डेरी सञ्चालकहरूका अनुसार विगतमा यसरी गोदाममा थन्किने गरेको थिएन ।

पाँचथर जिल्लामा मात्र ४० हजार किलो बढी घ्यु बिकेको छैन । फिदिम, राँके, रवि, यासोकसमेतका डेरीले उत्पादन गरेको घ्यु बिक्री नभएपछि दुग्ध उत्पादक कृषकले भुक्तानी पनि पाएका छैनन् । देशभर नै यही अवस्था छ । बिक्री नभएपछि दूध उत्पादन गर्ने किसानले समयमा दूधको मूल्य पाएका छैनन् । फिदिम नगरपालिका–९ तुम्रुकमा डेरी सञ्चालन गर्दै आएका छवि घिमिरेका अनुसार दैनिक १ सयदेखि २ सय किलो दूधबाट क्रिम निकालेर घ्यु बनाउने साना डेरीमा पनि १ सयदेखि २ सय किलोसम्म घ्यु स्टक छ ।

पुरानो स्टक बिक्री गर्दै नयाँ मौज्दात राख्दा पनि दूध उत्पादन गर्ने पहाडी क्षेत्रका साना किसानलाई दूधको मूल्य भूक्तानी गर्न सकिएको छैन । फिदिममा सञ्चालित डेरीमा गाउँमा उत्पादन भएको घ्यु बिक्री गरिन्छ । इलाम, झापा, विराटनगरदेखि पोखरासम्म यहाँ उत्पादन भएको घ्यु निकासी हुन्छ । पछिल्लो समय ती स्थानबाट माग आउन छोडेपछि डेरीले उत्पादन गरेका दुग्ध पदार्थ गोदाममै सडिने अवस्थामा छ ।

दूधजन्य पदार्थको उपयोग समय ६ महिनाको हुन्छ । ६ महिनामा बिक्री गर्न नसके त्यो सड्छ । त्यसैले धेरै डेरीले दूध संकलन पनि घटाउन थालिसकेका छन् । डेरी एसोसिएसनका सदस्य रिजालका अनुसार गाउँघरका साना डेरीले दूध किन्न नै छोडिरहेका र किन्दा पनि सीमितमात्र किन्ने गरेका छन् ।

पछिल्लो समय समग्रमा दूध उत्पादन बढेको छ । वर्षातले घाँस उत्पादन पर्याप्त रहेकोले दूध उत्पादन वृद्धि भइरहेको र कृषकहरू पशुपालन व्यवसायतर्फ आकर्षित पनि भइरहेको पाइन्छ । आर्थिक मन्दीका कारण खाने मन भएकाहरू पनि दूधजन्य पदार्थको प्रयोगमा कमी गर्दै आउँदा गोदाममै दूधजन्य पदार्थ मौज्याद रहन गएको फिदिम नगरपालिकाका पशुपंछी शाखा प्रमुख तीर्थराज मिश्रले घटना र विचारलाई बताए ।