सिद्धार्थ रङ्गशालालाई नेपालकै तेस्रो अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा विकास गरिने

सिद्धार्थ रङ्गशालालाई नेपालकै तेस्रो अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा विकास गरिने


नेपाल क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले भैरहवामा रहेको सिद्धार्थ रङ्गशालालाई नेपालको तेस्रो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा अगाडि बढाइने बताएका छन् । यसको सुरुआत प्रधानमन्त्री कपसँगै भइसकेको उनले जानकारी दिए ।

सिद्धार्थ रङ्गशालाको निरीक्षण गर्दै उनले केही सामान्य काम बाँकी रहेकाले यो पूरा हुने बित्तिकै अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिताको आयोजना गर्न सकिने बताए । ‘तपाईंहरू ढुक्क रहनुस् नेपालको तेस्रो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा भैरहवाको मैदान हुनेछ’ सञ्चारकर्मीहरूसँग कु्रा गर्दै चन्दले भने, ‘सम्भवतः २०२४ मै यहाँ अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुनसक्छन् ।’

उनले भैरहवा र पोखराका मैदानलाई काठमाडौँबाहिर अन्तर्राष्ट्रिय खेल खेलाउन सक्नेबारे अध्ययन भइरहेको बताए । रुपन्देही क्रिकेट सङ्घ जसरी सिद्धार्थ रङ्गशालालाई अगाडि बढाउन लागिपरेका छन्, त्यसअनुसार केही पूर्वाधार बढाए यहाँ निकट भविष्यमै एकदिवसीय खेल हुन सक्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय खेल खेलाउन केही पूर्वाधार आवश्यक पर्दछन्, केही सर्त पालन गर्नुपर्ने हुन्छ,’ उनले भने– ‘ती सबै पूरा हुने बित्तिकै हामी यहाँ खेल गराउन पहल गर्छौं ।’

चन्दले एक–डेढ महिनामै आइसिसीका पदाधिकारी पनि नेपाल आउने र त्यस क्रममा भैरहवा र पोखराका रङ्गशालालाई प्राथमिकतामा राखी टोलीलाई भ्रमण गराउने प्रतिबद्धता जनाए । पुस २७ गते सुरु हुने प्रधानमन्त्री कपका लागि काठमाडौँबाहिर पहिलोपटक भैरहवामा खेलको आयोजना हुनुलाई पनि सुखद मान्न सकिने उनको भनाइ थियो ।

रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले प्रधानमन्त्री कपका लागि आफूहरू हौसिएको बताए । मैदानको व्यवस्थापन लगायतमा रुपन्देही क्रिकेट सङ्घको सम्पूर्ण टोली नै लागेको र थप सहयोगका लागि स्थानीय सरकार र प्रदेश सरकारको सहयोगको खाँचो रहेको उनले औँल्याए । थापाले खेलमैदानलाई थप व्यवस्थित बनाउन केही लगानीको आवश्यकता रहेको बताए । यसका लागि स्थानीय तह र प्रदेश सरकारसँग पहल अघि बढाइरहेको उनले जानकारी दिए ।

यही पुस २७ गतेदेखि सञ्चालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरू भैरहवामा सञ्चालन हँुदैछन् । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजनामा सञ्चालन गरिँदै आएको प्रधानमन्त्री कपअन्तर्गतका खेलहरू पहिलोपटक भैरहवामा सञ्चालन हुने भएको हो ।