सुदूरपश्चिममा उल्लासका साथ मनाइँदै उत्तराइन पर्व

सुदूरपश्चिममा उल्लासका साथ मनाइँदै उत्तराइन पर्व


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आज पुस पन्ध्र अर्थात् उत्तराइन पर्व परम्परागत रुपमा उल्लासका साथ मनाइँदै छ । पुस १५ देखि प्रत्येक दिन तिलको दानाजति रात घट्दै जाने र दिन बढ्दै जाने भन्ने जनविश्वासका आधारमा पनि उत्तराइन पर्व मनाइने गरिएको छ ।

आजका दिन तरुल, सखरखण्ड उसिनेर खाने प्रचलन छ भने आज घाँस तथा हरियो स्याउला नकाट्ने र बारीमा लगाइएका कुनै चिज पनि आजका दिन नटिप्ने, गाईबस्तुका लागि पनि अघिल्लो दिन नै घाँसपात काटेर राख्ने परम्परासमेत रहेको छ ।

आजको रात वर्षकै सबैभन्दा लामो मानिने हुँदा ठूलीरात भनेर सम्बोधन गरिन्छ, ठूलीरातमा राति मिठा खानाका परिकार खाने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने, रातभरि दन्त्य कथा, कहानी स्थानीय भाषामा आइन (बात) सुन्ने/सुनाउने तथा तरुल सखरगण्ड पकाएर खाने चलन रहेको छ ।

तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट वनभोज खाने, चिसोबाट बच्न र शरीरलाई स्फुर्ति दिन चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने, यस पर्वमा विवाहित छोरीलाई माइतमा बोलाइ स्वागत-सत्कार समेत गरिन्छ । तर पछिल्लो समय बढ्दो आधुनिकताका कारण परम्परा लोप हुँदै गएको संस्कृतिविद बताउँछन् ।

यस पर्वमा गाउँघरका टोल-छिमेकको एक घरमा भेला भइ आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, पिँडालु, सखरखण्ड, पाकेको फर्सी उसिनेर खाने, सेलरोटी (लाउन), बाबर, माडा, रोटीलगायतका मीठा परिकार खाने र वृद्धवृद्धाबाट लोककथा एवम् दन्त्य कथा सुन्ने/सुनाउने प्रचलन रहेको छ ।

शहर बजार क्षेत्रमा पनि पहिले-पहिले देउडा गाइने चलन भए पनि पछिल्ला समयका युवाहरुले चलनचल्तीका गानाबजानाका साथ नाचेर रमाउने गरेका छन् । अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन भनिए पनि नेपाली संस्कृतिअनुसार पुस १५ लाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ ।