नेपाल प्रहरीलाई प्रो. क्लब च्याम्पियनसिपको उपाधि

नेपाल प्रहरीलाई प्रो. क्लब च्याम्पियनसिपको उपाधि


नेपाल प्रहरीको पुलिस क्लवले टी २० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा संचालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको हो ।

वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा-११ लाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधिसँगै ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले अविजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । यसैगरी अर्जुन साउदले २६ रन, शंकर राणाले १९ रन, ओपनर दिलीप नाथले १७ रन, कप्तान आरिफ शेखले १६ रन, अमित श्रेष्ठले ७ रन, रशिद खानले ७ रन, सुनिल धमलाले २ रन, शेर मल्लले १ रन र सागर ढकालले १ रनको योगदान दिएका थिए ।

१ सय ४६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्सा-११ ले ११ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनाएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । यसैगरी ललित राजवंशी र रासिद खानले दुई/दुई विकेट लिए भने करण केसी र शेर मल्लले समान एक/एक विकेट लिए । फाइनल खेलमा नेपाल पुलिस क्लबका करण केसी म्यान अफ द म्याच घोषित भए ।