साहित्य, कला तथा संस्कृति सम्बर्धनमा नेपाल प्रहरी तल्लीन : महानिरीक्षक कुँवर

साहित्य, कला तथा संस्कृति सम्बर्धनमा नेपाल प्रहरी तल्लीन : महानिरीक्षक कुँवर


प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा सम्बर्धनमा क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधाजस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने चर्चा गर्दै नागरिक सेवामा खटिँदा देखे–भोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपूर सुगन्ध पस्केको उल्लेख गरे । नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासङग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसूस भएको बताए ।

उक्त अवसरमा डा. ध्रुवचन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गरे । साथै राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा धारणा राखे ।

उक्त कथासङ्ग्र्रहको प्रकाशक संस्था शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा कथासङ्ग्र्रहका सर्जक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।