३८ श्रापले डामिएको नराधम म !

३८ श्रापले डामिएको नराधम म !


✍ डिल्ली अम्माई, बेल्जियम

देश फर्किन पनि डरलाग्दो !
चेस पनि रोबर्टले खेल्ने हाम्रो देशमा
राजनीतिको नियम सबै आयातित
आदेश आयातित, आदेशबाट चल्ने गोली
अनि कसरी देशलाई बचाउन सक्नु ?
मालिक एआईले लेखिदिएको नियम देखाएर
यो नेपालमा आफ्नैले पारेको समस्या हो
नेताले जानाजान निम्त्याएको अवस्था हो
मुलुकको असहजतामा रमिते बन्नु हुँदैनथ्यो
म फर्कनु पर्थ्यो आफ्नो देश,

मैले मर्ने दिन आफै निम्त्याउँदै हुन्छु
आफैलाई अरुको अधीनमा सुम्पेर
आफ्नो थप आयुको मागपत्रमा
पशुपति पुगेर हस्ताक्षर माग्दै हुन्छु,

मलाई नराम्रो लाग्छ विदेश उड्दा
आयुको दिन बढाएर आशीष माग्दा
श्रमको क्षेत्र क्षितिज बाहिर खस्दा
बिना योजना श्रम सिप पोख्दा
मलाई लाज लाग्छ प्रवाशमा
चर्पीहरुको कटकट नङले उक्काएर
थैलोमा खसाली लुर्खुराउँदा
तर मन मारेर
जीवनदेखि हारेर
स्वाभिमान पखालेर
जीवन मूल्य सुकाएर
विवश छु यो सब गर्न,

यी योजना मेरा हैनन्
पैतालाले नापेको भूमि
यी साहुको बार्दलीतलको बाटो
बारीको पाटो र बाबरीको नर्सरी
केही पनि मेरो हैनन् ती,
प्रवाशीले दिएको पुर्जा
विदेशी मूलको पहिचान
अधीनस्त स्वीकारेको हस्ताक्षर
देश त्यागेको स्वीकारोक्ति
किमार्थ सत्य हुन्,
मैले देशलाई दिएको बचन
मैले मेरा कुल, मेरो गाउँ
मेरा गुरुहरुलाई दिएको प्रतिज्ञा
म आफैले दोषमुक्त गर्दै
भागेर पुगेको देश
केही पनि मेरो हैन हुनै सक्दैन १

‘साथी, म जान्न अब पराइमुलुक
खान्न अब विदेशीको जागिर
आमालाई दिएको बचन टोकेर
खाएको खाजा नास्ता
आजैका दिनले त्यागिदिन्छु र मेरो देश फर्कन्छु’-
यत्ति भन्न नसक्ने मेरो मुख
आवाज निकाल्न नसक्ने मेरो गला
हिम्मत निकाल्न नसक्ने मेरो बय
बयभरि छिर्किरहेको रगत
स्वाभिमान र मेरो विदेशीको कृतार्थ बाँचेको लास शरीर
सबै सबै भर्सेलोमा परुन्
भूमिको श्रापले डामिएको नराधम म
लाज र घृणाको विष फैलिएर शरीरभरि
मुलुक फर्किन नसक्ने तनावले
छटपटाइ सकस दिएर आफैलाई
सन्तापले कुटिएर मर्दैछु म ।