राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई


हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधिसहित रु दुई लाख जितेको हो । एपिएफले न्यू डाइमन्डलाई १९–२५, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो । उपविजेता भएको न्यू डाइमन्डले रु एक लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपिएफका सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यू डाइमन्डले प्राप्त गरेको छ । उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेन्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित भइन् ।

सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार र विधागत उत्कृष्टले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरेका छन् । पाँचवटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिङ्गल राउन्ड रोविनका आधारमा सञ्चालन भएको थियो । एपिएफ ११ अङ्कका साथ समूह विजेता र न्यू डाइमन्ड १० अङ्कसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा न्यू डाइमन्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त गरेका थिए । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले रु ५०र५० हजार प्राप्त गरेको छ ।

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष वसन्तकुमार सिटौला, वडाअध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा भलिबल सङ्घ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले १३ गतेदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।