✍ मौन आवाज
कान नहुनेहरूले
मेरा कानहरू काटेर लगे !
आँखा नहुनेहरूले
मेरा आँखाहरू झिकेर लगे !
नाक नहुनेहरूले
मेरो नाक भाँचेर लगे !
टाउको नहुनेहरूले
मेरो टाउको उखेलेर लगे !
हिँड्न चाहने तर खुट्टा नहुनेहरूले
मेरा खुट्टा चुँडालेर लगे !
औंला नहुनेहरूले
मेरा औंला लगे !
हात नहुनेहरूले
मेरा हात लगे !
रौं नहुनेहरूले
मेरा रौंहरू लगे !
छाला नहुनेहरूले
मेरो छाला लगे !
मासु नहुनेहरूले
मेरो मासु लगे !
हड्डी नहुनेहरूले
मेरो हड्डी लगे !
लगे रगत नहुनेहरूले रगत
लगे वीर्य नहुनेहरूले वीर्य
लगे ¥याल नहुनेहरूले ¥याल !
खकार नहुनेहरूले खकार लगे
पिप नहुनेहरूले पिप लगे
घाउ नहुनेहरूले घाउ लगे !
दाँत लगे दाँत नहुनेहरूले
जिब्रो लगे जिब्रो नहुनेहरूले
मुख लगे मुख नहुनेहरूले !
ओठ नहुनेहरूले
मेरो ओठ लगे !
घाँटी नहुनेहरूले
मेरो घाँटी लगे !
भोकाएकाहरूले
मेरो आन्द्राभुँडी लगे !
अघाएकाहरूले मेरो मलद्वार लगे !
निस्सासिएकाहरूले
मेरो श्वास लगे !
कामुकहरूले
मेरो यौनाङ्ग लगे !
भावुकहरूले
मेरो सम्वेदनाङ्ग लगे !
जड्हरूले मेरो चेतनाङ्ग लगे !
विचार लगे विचार नहुनेहरूले
भावना लगे भावना नहुनेहरूले
प्रेम लगे प्रेम नहुनेहरूले !
लगे–
मस्तिष्क नहुनेहरूले मेरो मस्तिष्क !
लगे–
हृदय नहुनेहरूले मेरो हृदय !
बाँकी थियो रुनलाई आँसु
त्यो पनि मागेर लगे केही नहुनेहरूले !
एउटा आत्मा थियो
एउटा निजत्व थियो
त्यो पनि तिम्रो होइन भनेर परमात्माहरूले लगे !
यसरी हरेक अङ्गहरू सकिएपछि
म बेअङ्ग भएँ !
एक–एक गर्दै
सबै आकारहरू सकिएपछि
म निराकार भएँ !
यसरी, मपनि ईश्वर जस्तै नयाँ ईश्वर भएँ !
प्रतिक्रिया