तमु धीं जापानको २९औं ल्होसार सांस्कृतिक साँझ सम्पन्न

तमु धीं जापानको २९औं ल्होसार सांस्कृतिक साँझ सम्पन्न


  • प्रमेश तमु, टोकियो

तमु धीं जापानको २९औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।

जापानको राजधानी टोकियोस्थित उएनो पार्कको खुल्ला हलमा नेपालबाट आमन्त्रित कलाकारहरू र टोकियोमा कर्मथलो बनाइ बसेका कलाकारहरूको बेजोडको प्रस्तुतिबीच ल्होसार कार्यक्रम सम्पन्न भएको हो ।

स्थापना कालदेखि हरेक वर्ष ल्होसार साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको तमु धीं जापानले २९औं शृङ्खला बिहीबार टोकियोका विविध सांगीतिक कार्यक्रमसहित मनाएको हो ।

कार्यक्रममा स्थानीय कलाकारहरुले नेपाली तथा गुरुङ समुदायको सँस्कृति झल्कने खालका विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए । बाल कलाकारहरूको स्वागतनृत्य हेर्न लायक थियो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका सविना गुरुङले आधा दर्जनजति आफ्ना चर्चित गीत गाएर टोकियोको जाडोको माहोल तताएका थिए । यसैगरी वरिष्ठ तमु हास्य कलाकार बलबहादुर गुरूङले पनि आफ्नो दमदार प्रस्तुति दिइ मनोरञ्जन दिलाएका थिए । यस्तै, लोकदोहोरी गायक सर्जक अनि गुरुङ फिल्मका वरिष्ठ कलाकार रेशम गुरुङले पनि आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न गायक, संगीतकर्मीहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

यसअघि प्रमुख अतिथि रविन प्रसाद शेरचन, जनजाति महासंघ जापानका उपाध्यक्ष श्री गुरूङ, कार्यवाहक अध्यक्ष अरमान गुरूङ, ओम गुरूङ, एनआरएनए जापानका उपाध्यक्ष शिदार्थ श्रेष्ठ, एनबीए जापानका अध्यक्ष विजय थकाली, मोना जापानका अध्यक्ष ददिवाल खड्का, नेपाल एयरलाइन्स जापान प्रखुख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतका विशेष अतिथिहरुले रिवन काटेर सामुहिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन मन्तब्य तमु धीं जापानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिला गुरुङ्गले राखेकी थिइन् भने यसैगरी कार्यक्रममा विशेष अतिथि एनआरएनए जापानका प्रतिनिधि रविन प्रशाद शेरचन, जनजाति महासंघ जापानका बरिष्ठ उपाध्यक्ष श्री गुरुङ, एन आर एनए जापानका उपाध्यक्ष शिदार्थ श्रेष्ठ, एनआरएनए आईसीसी सदस्य ओम गुरुङ लगाएतकाले शुभकामना मन्तब्य दिएका थिए ।

औपचारिक कार्यक्रमको अन्तमा सभापतिको आसनबाट बोल्दै तमु धीं जापानका कार्यबाहक अध्यक्ष अरमान गुरुङले ल्होसार साँझलाई सफल पार्न सहयोग गर्ने प्रायोजक, सहयोगी, पत्रकार, संघसंस्था, कलाकार, स्वयमसेवक लगायत सबैलाई धन्यबाद ब्यक्त गरे । उनले गुरुङ समुदायको साँस्कृतिक धरोहर मानिने ल्होसार संस्कारको गरिमा जोगाउन दुई दशकदेखि तमु धी जापान निरन्तर लागिपर्दै आएको विचार ब्यक्त गरे ।

संस्थाका महासचिव खेम तमुले सञ्चालन गरेको औपचारिक कार्यक्रम समाप्त पछि ल्होसार साँगीतिक साँझ कार्यक्रमको सञ्चालन युक्तामन गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा अतिथि कलाकार लागाएक तमु धिं जापानलाई विगतदेखि योगदान पुऱ्याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।