जापानमा विद्यार्थी-भिसामा रहेका युवकको दुःखद मृत्यु

जापानमा विद्यार्थी-भिसामा रहेका युवकको दुःखद मृत्यु


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको फुकुओकामा जापानीज भाषा अध्ययनका लागि विद्यार्थी-भिसामा रहेका एक नेपाली छात्रको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का २५ वर्षीय युनेष अधिकारीको उपचारका क्रममा शनिबार (२१ पुष) मृत्यु भएको हो ।

यो घटनाबारे एनआरएनए जापानको क्षेत्रीय समिति क्युस्युले जानकारी गराएको छ । ‘गत डिसेम्बर ३१ तारिख जापानको फुकुओकामा भएको दुःखद घटनाले हामीलाई दुखित तुल्याएको छ,’ जारी सूचनामा भनिएको छ, ‘फुकुओका शहरमा जापानीज भाषा अध्ययनका लागि विद्यार्थी भिसामा रहेका युनेष अधिकारीका बारे सामाजिक सञ्जाल एवं मिडियामा प्रकाशित समाचारले गैरआवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय समितिको ध्यानाकर्षण भएको छ ।’

प्राप्त जानकारीअनुसार साथीहरूसँगै कन्सर्ट हेरेर फर्कने क्रममा अधिकारी तेञ्जिङ्ग स्टेसनमा रहेको शौचालय जाने भनी गएका थिए, तर उनी फर्केनन् । १० मिनेटभन्दा बढी समयमा पनि नफर्केपछि उनका साथीले छोडेर आएको सूचनामा उल्लेख छ । स्टेटमेन्टमा भनिएको छ, ‘३१ डिसेम्बर २०२३ दिन कन्सर्टबाट फर्कने क्रममा तेञ्जिङ्ग स्टेसनमा रहेको शौचालय जाने भनेर गएका तर १० मिनेट जतिको समयमा पनि नफर्किएपछि सँगै गएको साथीहरूले छोडेर गएको भन्ने जानकारी प्राप्त भयो,’ सूचनामा अगाडि भनिएको छ, ‘सोही भवनमा रहेको सिसिटिभी फुटेजको आधारमा निज अधिकारी वरिपरि घुम्दै गरेको र बाटो पत्ता लगाउन नसकिएको जस्तो देखिएको अनि उक्त भवनको तेस्रो तल्लाको आकस्मिक झ्याल खोली पहिले पन्जा फाली त्यसपछि आफू तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।’

बताइएअनुसार त्यसपछि घटनास्थलबाट प्रत्यक्षदर्शी जापानी नागरिकले प्रहरीलाई फोन गरी घटनाको जानकारी गराएका थिए । प्रहरीले उद्धार गरी उपचार गर्न लगेको थियो । एनआरएनएकाअनुसार युनेषको टाउकोमा गम्भीर चोट लागेको थियो ।

‘घटनामा प्रहरीलाई पनि थप अनुसन्धान गर्नका लागि अनुरोध गरिनु साथै एनआरएनए जापानको क्षेत्रीय समिति क्युस्युको तर्फबाट आवश्यक प्रयास जारिरहने र सरोकारवाला निकायसँग समन्वय गरी घटनाको विस्तृत थप जानकारी गराउँदै जानेछौँ,’ एनआरएनएको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा हुने यस्ता दुखद घटनाले हामीलाई मर्माहत तुल्याएको छ । आगामी दिनमा यस्ता घटनाहरू नहोस् भनी प्रार्थना गर्दछौँ र सबैमा सचेत रहनको लागि हार्दिक अनुरोध गर्दछौँ ।’