नवजात नातिको मुख हेर्न जापान पुगेका वृद्ध दम्पतिको दुर्घटनामा मृत्यु

नवजात नातिको मुख हेर्न जापान पुगेका वृद्ध दम्पतिको दुर्घटनामा मृत्यु


  • विशेष प्रतिनिधि, जापान

जापानमा रहेका आफ्ना छोरा∕बुहारी तथा नातीसँगको भेटघाटका लागि आएका नेपाली दम्पतीको ओकिनवामा कारको ठक्करबाट दुःखद निधन भएको छ।

नेपालको रुकुमपश्चिम घर भएका बिष्ट दम्पती ओकिनवामा बस्दै आएका आफ्ना छोरा भुपाल विष्ट तथा बुहारी र भर्खरै जन्मिएका नातीको मुख हेर्न दुई महिनाअघि मात्रै ओकिनवा आइपुगेका थिए ।

जापानी समाचारहरुका अनुसार गत शनिबार (२१ पुष) साँझ करिब ५ः२० बजे उरासो शहरको मियागीस्थित राष्ट्रिय रुट ५८ मा गिनोवान शहरबाट नाहातर्फ जाँदै गइरहेको कारले पैदलयात्रा गरिरहेका विष्ट दम्पतिलाई ठक्कर दिएको थियो । पैदलयात्री दुवैलाई अचेत अवस्थामा अस्पताल पुऱ्याइएको थियो तर बचाउन सकिएन ।

जापानी संचारमाध्यमहरुमा पुर्ण विवरण नखुलाइएता पनि ओकिनवाबाट यस घटनालाई नजिकबाट बुझेको स्रोतका अनुसार उनीहरु दुवै जना नेपाली नागरिक रहेका र, आफ्ना सन्तान भेट्न आएका दम्पती भएको पुष्टि भएको हो ।

उरासोस्थित प्रहरीले लापर्वाही सवारी चलाएर चोटपटक लागेको आरोपमा घटनास्थलबाटै कार चालक ८० वर्ष उमेर समुहकी एक महिलालाई पक्राउ गरेको थियो । र, ठक्करबाट घाइते दुवै जनाको ज्यान गएपछि लापर्बाही गरेर सवारी चलाउँदा मानिसको ज्यान गएको आरोपमा अनुसन्धान अगाडि बढाइएको स्थानीय प्रहरी कार्यालयले जनाएको छ ।