करिना पछार्ने विनिता गोप्य चेकको प्रतीक्षामा

करिना पछार्ने विनिता गोप्य चेकको प्रतीक्षामा


‘हेर्दाहेर्दै तिमी पनि करिना कपुरलाई ढाल्ने नेपाली हिरोइन भयौ होइन त ?’ आजभोलि चपली हाइटकी नायिका विनिता बराललाई यस्तै एसएमएसको ओइरो लाग्ने गरेको छ र, बधाई दिनेहरूको भीड पनि ठूलै छ ।
हुन पनि हो, विश्वको चलचित्र बजारमा आफ्नो साम्राज्य विस्तार गर्दै अगाडि बढेको भारतीय चलचित्र अहिले संसारमा सबैभन्दा बढी दर्शकहरूले हेर्नेमा पर्दछ । तर गत साता भने काठमाडौंवासी दर्शकहरूले एउटा भारतीय चलचित्र नहेरेर नेपाली चलचित्र हेरिदिँदा भारतीय चलचित्रको नेपाल अधिकार किन्ने वितरकले घाटा सहनुपर्‍यो । कुरा चलचित्र ‘एजेन्ट विनोद’को हो । यो चलचित्रमा दुई भारतीय स्टार छन् सेफ अली खान र करिना कपुर । यो चलचित्रलाई २५ लाख नेपाली रकममा प्रदर्शन अधिकार किन्ने चलचित्र वितरक यतिबेला तिनछक परेका छन् नेपाली चलचित्र चपली हाइटको बजार देखेर ।
काठमाडौंको जय नेपाल हलमा रामै्रसँग चलेको ‘चपली हाइट’ उतारेर ‘एजेन्ट विनोद’ लगाउँदा यो चलचित्र हेर्ने न्यून दर्शक आएपछि फेरि एजेन्ट विनोद उतारेर ‘चपली हाइट’ लगाउनुपरेको थियो । ‘एजेन्ट विनोदको समयमा मात्र होइन कि यसअघि ऋत्विक रोशनको चलचित्र अग्निपथलाई पनि ‘लुट’ ले ढालेको थियो,’ सिनेमा हलमा कर्मचारी भन्छन् ।
यसरी करोडौं बजेटका भारतीय चलचित्रलाई लाखौं बजेटका नेपाली चलचित्रहरूले ढाल्न थालेपछि लगानी धेरै गरेर मात्र होइन प्रस्तुतिमा नवीनता भयो भने चलचित्र चल्छ भन्ने कुरा स्पष्ट भएको छ । नेपाली चलचित्रलाई हिन्दी चलचित्रसँग दाँज्ने तर नेपाली फिल्म भने नहेर्ने दर्शकहरूले पनि लुट र चपली हाइटबाट राम्रा शिक्षा पाएका छन् । करोडौं रुपैयाँ एउटा फिल्मबाट पारिश्रमिक बुझने एजेन्ट विनोदकी नायिका करिनालाई पारिश्रमिकमा लाख पनि कटाउन नपाएकी विनिताले अन्तत: ढालेरै छाडिन् ।
त्यसो त विनिताको चर्चा अनि उनकै वाहवाहीका कारण चलचित्र चलेको वास्तविकता र्छलङ्ग भएपछि यसमा निर्माता अर्जुनकुमारले विनितालाई बक्सिसस्वरूप खुसी भएर केही रकम दिने भएका छन् । एक कार्यक्रमका साथ अर्जुनले यो साता विनितालाई त्यो रकम दिन लागेका हुन् तर कति रकम हो ? त्यो भने उनले खुलाउन चाहेका छैनन् । ‘यो त उपहार हो । उपहारबारे हल्ला गर्नु राम्रा हो र ?’ उनले भने । स्मरण रहोस् कि यसैगरी यसअघि लुटको सफलतापछि यसका निर्माता नरेन्द्र महर्जनले पनि लुटका निर्देशक निश्चल बस्नेतलाई उपहारस्वरूप कार उपलब्ध गराएका थिए ।

लोकगीतहरूका म्युजिक भिडियोमा त मोडलका रूपमा शशि खड्काले रामै्र स्थान जमाइसकेकी छिन् । क्रमश: आफ्नो उपस्थितिलाई म्युजिक भिडियोहरूमा मात्र सीमित नराखी फराकिलो बनाउँदै सिनेमाको पर्दामा पनि जम्दै जाने उनको सोच र योजनामा सुरुमा नै तुषारापात भएको छ । ग्ल्यामर क्षेत्रमा लागेको वर्षौं भइसक्यो तर यसरी धोका पाएकी थिइनँ भन्दै शशिले घटना र विचारसँग गुनासो गरिन् । ‘जसरी सिनेमालाई ठूलो पर्दा भनिन्छ तर त्यो ठूलो पर्दामा काम गर्नेको मन भने सानो हुँदोरहेछ । म सानी मान्छेलाई विवादमा तान्न खोजियो,’ उनले भनिन् ।
पोस्ट प्रोडक्सनमा व्यस्त रहेको चलचित्र ‘चन्द्रावती’का निर्देशक राजु गिरीले आफ्नो क्यारियर बिगार्न खोजेको भनाइ उनको छ । शशि भन्छिन्, ‘सो चलचित्रमा रहेको एउटा यौन दृश्य मैले सहमतिमा नै हटाउने प्रस्ताव उहाँसमक्ष राखेँ तर उहाँले हटाउन मान्नुभएको छैन । एउटा दृश्यले कसैको जीवनमा नराम्रा असर पर्न सक्छ भने त्यो हटाइदिनु निर्देशकको धर्म र कर्तव्य पनि हो । तर उहाँले न्यूनतम धर्म पनि निभाउन खोज्नुभएन ।’
शशिले सो दृश्य हटाउँदा चलचित्रलाई असर नपर्ने तर राख्दा आफ्नो जीवनमा भने असर पर्ने कुरा बताइन् । उनी निर्देशक गिरीले आफ्नो यो कुरालाई उचालेर विवादमा तान्दै चलचित्र चलाउन खोजेको आरोप पनि लगाएकी छिन् । ‘भर्खर सिनेमामा आएकी मजस्ती युवतीलाई विवादमा मुछेर मिडिया वार गर्नुभयो उहाँले । यसबाट निस्कने परिणाम गलत हुन सक्छ,’ शशिले चुनौती दिइन् ।
तर निर्देशक राजु गिरी भने पहिले त्यो दृश्य हाँसेर दिने शशिले अहिले विवाद गर्नुमा कुनै तुक नभएको कुरा अगाडि सार्छन् । ‘उनलाई कसैले उचालेको र भड्काएको हुनुपर्छ । त्यसकारणले शशिलाई नभड्किन आग्रह गर्दछु । सिन कुनै हालतमा पनि काटिँदैन,’ राजुले ठोकुवा गरे । तर शशि भने सो सिन दिने बेला र अहिलेको परिस्थिति फरक भइसकेको कुरा बताउँछिन् । ‘सिनेमा भनेको समयमा रिलिज नहुँदा र नसक्दा मलाई असर परेको छ । यो कुरा निर्माण पक्षले बुझिदिनुपर्‍यो । त्यस्तो पर्‍यो भने सिन पछि काट्न पनि सकिन्छ भनिएको थियो । तर, अहिले मलाई फसाइयो र मेरो ब्ल्याकमेलिङ गरियो,’ उनी भन्छिन् । शशि त यतिबेला निकै आक्रोशित पनि भएकी छिन् । कि वार कि पारको अवस्थामा आफू पुगेको निष्कर्ष उनको छ । ‘यदि मेरो क्यारियर ध्वस्त पार्न षड्यन्त्र भयो भने म पनि छोड्दिनँ । धेरै आग्रह गरेकी छु । हेरौँ सिनेमा रिलिजसम्म कुर्छु। मलाई विश्वास छ कि एउटी सङ्घर्षरत कलाकारको आग्रहलाई निर्माण पक्षले बुझनेछ,’ शशिले भनिन् ।

राई इज किङ अब भोजपुरीतिर
नेपाली चलचित्रहरूमा सर्वाधिक गीत गाउने एक मात्र गायक हुन् राजेशपायल राई । र, नेपाली सिनेमाका नायकहरूको पहिलो छनोटमा पर्ने गायक पनि उनी नै हुन् । विशेषत: महानायक राजेश हमालले अभिनय गर्ने चलचित्रमा राजेशपायलकै आवाज हुने गर्छ । अझ यसो भनौँ कि राजेश हमालले ‘मलाई राजेशपायलको आवाज फिट हुन्छ त्यसकारण सिनेमामा मैले गाउने गीतचाहिँ राजेशपायललाई नै गाउन दिनुहोला’ भनेर निर्माता-निर्देशकलाई भन्ने गर्छन् ।
लोक, आधुनिक अनि चलचित्र । हरेक विधा, वर्ग, तह र तप्कामा श्रोतालाई आफ्नो आवाजले मन्त्रमुग्ध पार्न सक्ने क्षमतामा धनी राईको आवाज अब भोजपुरी गीतमा पनि सुन्न सकिनेछ । राजेशले यसै हप्ता भोजपुरी एल्बम ‘शिला के जवानी’मा गीत गाउनका लागि सम्झौता गरेका छन् । यो एल्बममा राजेशको नौवटा गीतमा आवाज रहनेछ भने एउटा युगल गीतमा भने उनलाई चर्चित भोजपुरी गायिका कल्पनाले साथ दिने भएकी छिन् । ‘कलाकार अनि कलाको कुनै सीमा र परिधि हुँदैन भन्ने कुरा आज मेरो जीवनमा लागू भएको छ । नेपाली श्रोताहरूकै माया र सद्भावका कारण म अन्य भाषाको गीत गाउन पनि सक्षम भएको छु,’ निकै दङ्ग छन् गायक राई ।
एल्बमका सङ्गीतकार सन्तोषराम सहनीले भने आफूले नेपालको सुपरस्टार गायकसँग काम गर्न पाएकोमा निकै खुसी भएको कुरा बताए । ‘यो कामले मेरो पनि बजार विस्तार हुनेछ,’ उनले भने । जानकारीमा आएअनुसार यो एल्बमको म्युजिक ट्रयाक मुर्म्बईमा तयार हुनेछ भने राजेशले स्वर भने नेपालमा नै हाल्ने भएका छन् । एल्बममा विनय विहारी, अशोक पाण्डे र आरके राजुजस्ता चर्चित भोजपुरी गीतकारहरूको गीति रचना समेटिने छन् ।

तपाईंको दृष्टिमा
आज पनि शर्मिला मल्ललाई देख्नेहरू भन्छन्- अझै उत्तिकै राम्री छिन् यिनी । सदावहार नायिका हुन् यिनी । चलचित्र कान्छीकी कान्छी शर्मिला मल्ल आफ्नो जमानाकी एक सफल र सुन्दरी नायिका हुन् । शर्मिलाको सुन्दरताको बखान गर्दा उनको प्रशंसाका शब्दहरू नै ओइरिने गर्छन् । यिनै पुरानी नायिका मल्ल आजकल घरतिरै व्यस्त हुने गरेकी छिन् । अहिले पनि उनलाई फिल्मबाट अफर आउने गरेका छन् । ँतर, मलाई भूमिका चित्त नबुझेका कारण मैले खेल्ने गरेकी छैन । दर्शकहरूले मलाई दिनुभएको माया अनि सम्मानको इज्जत राख्न पनि मैले जस्तो पायो त्यस्तो भूमिकामा देखिन मिल्दैन,’ यस्तो विचार राख्ने सुन्दरी कान्छी शर्मिलाको बुझाइमा जीवन र जगत् के हो त ? घटना र विचारको स्तम्भ ‘तपाईंको दृष्टिमा’का लागि शर्मिला राजन घिमिरेसँग यसरी प्रस्तुत भइन् ।

० जीवन के हो ?
– भगवान्ले दिनुभएको अमूल्य बरदान
० प्रेम के हो ?
– बाँच्ने आधार
० सुन्दरता के हो ?
– आँखाले देख्ने मनले बुझने कुरा
० मन के हो ?
– महसुस गर्नु
० भावना के हो ?
– गहिराइ
० विवाह के हो ?
– जीवनमा आएका सुखदु:ख पार गर्दै सँगै जिउने प्रण
० बन्धन के हो ?
– मनको भ्रान्ति
० अपमान के हो ?
– बेइज्जत गर्नु वा हुनु
० इज्जत के हो ?
– सम्मान
० बेइज्जती के हो ?
– लाजमर्दो कुरा
० मिलन के हो ?
– खुसीको क्षण
० विछोड के हो ?
– पीडा
० जवानी के हो ?
– बैंसको एउटा बेला
० बालापन के हो ?
– जिम्मेवारीविहीन क्षण
० तृष्णा के हो ?
– कहिल्यै नअघाउने वा नमर्ने
० रिस के हो ?
– आफैंलाई हानि गर्ने शत्रु
० जोस के हो ?
– एकप्रकारको नशा
० नसा के हो ?
– भ्रम
० यौन के हो ?
– जीवनमा आउने सुखद क्षण
० सन्तुष्टि के हो ?
– पूर्णविराम
० कर्तव्य के हो ?
– जिम्मेवारी
० विश्वास के हो ?
– मनको सोचाइ
० असल के हो ?
– कसैको पनि कुभलो नचिताउनु
० खराब के हो ?
– अरूको कुभलो चिताउनु
० सबैभन्दा ठूलो धोका के हो ?
– आफूले आफैंलाई दिने
० दु:ख के हो ?
– मुनमा हुने पीडा
० सुख के हो ?
– मनको खुसी
० खुसी के हो ?
– आत्मसन्तुष्टि
० आनन्द केमा छ ?
– सन्तोषी हुनुमा
० मित्र को हो ?
– जो सही मार्ग-निर्देशन दिन्छ
० शत्रु को हो ?
– परेको बेला साथ दिँदैन
० सङ्घर्ष के हो ?
– जीवनमा भोग्नैपर्ने बेला
० प्राप्ति के हो ?
– सुखद अनुभूति
० आस्था के हो ?
– विश्वास
० धर्म के हो ?
– अनुशासन
० नैतिकता के हो ?
– चरित्रवान हुनु
० चरित्र के हो ?
– समाजमा राम्रा सन्देश दिनु
० ज्ञान के हो ?
– हरेक व्यक्तिको आवश्यकता
० बुद्धि के हो ?
– सही निर्णय गर्ने क्षमता
० सम्झौता के हो ?
– समयको माग
० सृष्टि के हो ?
– सुन्दर उपहार बरदान
० गुरु को हो ?
– आमा
० राजनीति के हो ?
– बुझनेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड
० देश के हो ?
– परिचय
० समाज के हो ?
– परिवार
० पद के हो ?
– दायित्व
० विकास के हो ?
– उन्नति, प्रगति
० व्यापार के हो ?
– आर्थिक कारोबार
० अनुशासन के हो ?
– गल्ती नगर्नु