बम्जनका समर्थकहरू सिआइबीमा

बम्जनका समर्थकहरू सिआइबीमा


आफ्ना अनुयायी बेपत्ता बनाएको अभियोगमा गत मंगलबार प्रहरीद्वारा पक्राउ गरिएका रामबहादुर बम्जनका समर्थकहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोआसपास भेला भएका छन् । ठूलो संख्यामा ब्युरोको कार्यालयआसपास भेला भएका उनीहरुलाई प्रहरीले हटाएको छ । प्रहरी पनि उल्लेख्य संख्यामा तैनाथ छ ।

बमजनलाई भेट्न भन्दै बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरू सीआईबी कार्यालयमा पुगेका हुन् । तर, प्रहरीले बम्जनसँग भेट गर्न दिएको छैन ।

बमजनका समर्थकहरू सीआईबी कार्यालयमा भेला भएर भीडभाड भएपछि प्रहरीले रोकेको हो । अत्यधिक भीडभाड भएपछि उनीहरुलाई प्रहरीले नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली स्थानमा पठाएको छ । त्यहाँ प्रहरी वृत्त महाराजगञ्जको टोली परिचालित छ ।

सिआईबीले बम्जन पक्राउको विस्तृत जानकारी सञ्चारमाध्यमलाई दिने तयारी गरेको छ ।

बम्जनको घरमा ३ करोड ३४ लाख रुपैयाँ

रामबहादुर बम्जन बस्ने घरमा करिव ३ करोड ३४ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । नेपालसहित १६ देशमा मुद्रा उनको घरमा रहेको प्रहरी श्रोतले जानकारी दियो । उक्त रकम प्रहरीले बरामद गरेको छ ।

बुढानीलकण्ठको हात्तिगौंडास्थित उनी बस्दै आएको घरमा प्रहरीले छापामार्दा भारीमात्रमा रकम फेला परेको हो ।

प्रहरीका अनुसार बम्जनका घरबाट २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि फेला परेको छ ।